२० जेठ २०८२, सोमवार

शिवसताक्षीमा आयूर्वेदका सबै उपचार निःशुल्क

११ जेठ २०८२, शनिवार
Image

झापा, १०  जेठ । आयूर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।  

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयूर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताउनुभयो । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी वडा नं. ११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रुपमा रु. २० लाख बजेट दिइरहेको छ ।

जिल्लाकै पुरानोमध्येको यहाँको आयूर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रुपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयूर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउनुहुन्छ ।

“पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उहाँ भन्नुहुन्छ–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरु आयूर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपीडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताउनुभयो । 

चालू आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । वहिरंग विभाग (ओपीडी)मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना विरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयूर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रुपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउनुहुन्छ । सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदा समेत औषधालयले पुर्याएको उपचार सेवा प्रशंसनीय रहेको उहाँको भनाई छ । 

पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिलाहरु आफ्नो र शिशुको लाभका लागि आयूर्वेद पद्धतिमा आधारित दुग्धवद्र्धक औषधिप्रति आकर्षित भइरहेका छन् । बिगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।

सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका विरामीले आयूर्वेद औषधालय धाएर नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउनुहुन्छ ।

यहाँको आयुर्वेदालयले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रुपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।

नगर आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यक पर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपंचर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्याव लगायतका नयाँ प्रविधियुक्त सेवा भित्राउन आवश्यक रहेको स्थानीय पत्रकार सरोज भट्टराई बताउनुहन्छ ।