डा. अतीन्द्र दाहाल
कुनै जमानामा चल्तीका चलचित्रका प्रख्यात डाइलग अथवा नित्यकर्मका कुनै गहन मन्त्र जस्तैगरी अधिकांशले घोकेका छन् । अर्थ र अन्तर्य केलाउने चासो अनि चैतन्य दुवै नभए पनि बेलाबेलामा मन्त्रोचारण झैं दोहो¥याई रहन्छन् । यस्तो नैराश्यता र निराशाको सम्प्रेषण निकै कर्णप्रिय बन्दै गएको छ । समाजमा राजनीति र नेताहरूलाई घोर असफल तथा निष्प्रभावी पात्रको चित्रणमा यी भाष्यहरू बहुतै बलिया हतियारका रूपमा विद्यमान छन् ।
तर प्राचीन राजनीतिशास्त्री अरस्तुकृत पुस्तक पोलिटिक्सले भन्छ– खराब नागरिकले खराब नेता जन्माउँछन् र उसले देश सखाप पार्छ । बहसको एउटा नयाँ धार यहाँबाट सुरु हुनुपर्छ । नेतृत्व र सरकार आफैं खराब भयो कि ? हामी आम नागरिकको सामरिक तथा समिष्ठ चरित्रको प्रत्यावरण स्वरूप त्यो निष्प्रभावी र खराब देखिएको हो ? हामीलाई लागे झैं देश आफूखुसी नसुध्रिएको हो कि, हामी नागरिक स्वयं पनि सुध्रन नसकेकाले देश नसुध्रिएको देखिएको हो ? सन् २०१२ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि मिट रोम्नी आफ्नै पूर्ववत् पेसामा फर्किए । विदेशमा अधिकांश पूर्वविशिष्टहरू देशको ढुकुटी दोहनसट्टा आफ्नै आर्थिक सामाजिक जीवनमा फर्कन्छन् । हामीकहाँ एकचोटी पदमा भएको मानिस जिन्दगीभर विलासी र सौखिन रहन्छ ।
हामी आम नागरिक खाली अरूको कटाक्ष गरेर बस्छौं तर आफैं अलिकति सकारात्मक र रचनात्मक योगदान दिन कमैमात्रमा सोच्छौ । विदेश भाग्नुमात्र समस्याको समाधान होइन । देशमा समस्या हुँदा आफैंसमेत लागेर निराकरण गर्नुपर्छ, फेसबुकमा अर्ती÷उपदेश छाँटेरमात्र हुँदैन । आधुनिकताको खोक्रो खोलमा खेतबारी बेचेर हतारहतार कोरिया कतार धाउने अनि यही बस्नेहरू दूध बेचेर कोकाकोला पिउने संस्कृतिले पनि देशलाई जर्जर बनाउँदै छ । घरमा आलु भुटेर खान नचाहनेहरू रेस्टुरेन्टमा महँगो बिल तिरेर फिंगर चिप्स÷फ्रेन्च फ्राईमा रमाउँछौ । बासी भातलाई पाखे र असभ्य मान्नेहरू फ्राइड राइसको सौखिन छौं । जहाँ संस्कार डामाडोल छ, त्यहाँ समृद्घि र सभ्यता गोलमाल हुन्छ, हाम्रो अवस्था यही हो । हामी नागरिकहरू अरूलाई सल्लाह र सुझाव दिनेमा उच्च कौशलता राख्छौं तर आफ्नो ठाउँ सपार्न खोज्दैनौं । देशको बर्खिलाप गर्नेमा रमाउँछौं । घरमात्र ठूला बनाउँछौं, बाटो बनाउँदैनौं । राम्रो शिक्षा चाहान्छौं तर शिक्षण कर्मलाई मन पराउँदैनौं, मर्यादित र सम्मानित हिसाबले हेर्दैनौं । सरकारी सेवामा छौं, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौं, आफैंले पनि विश्वास गर्दैनौं । सरकारी कर्मचारीले पनि आफ्ना सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास राख्दैनौं । त्यो अवस्था बनाउन सकेका छैनौं ।
विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिँड्छौं तर आफैं रहेको विश्वविद्यालयमा सामान्य सुधार गर्नसमेत रुचि देखाउँदैनौं । स्वच्छ र सुन्दर समाज चाहन्छौं, फोहोरचाहिँ सडकमा फाल्छौं । सार्वजनिक पदमा हुन्छौं तर सेवाग्राहीलाई सहज, सुलभ सेवा प्रवाह गर्दैनौं । सरकारी सेवालाई जिम्मेवारी कम अनि कमाउने अवसरको रूपमा बढी प्रयोग गर्छौ । श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरी खानेलाई भाग्यमानी सम्झन्छौं । आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्नेगरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गर्ने सोच्दैनौं ।
लामो समय निजामती सेवामा बिताएका उच्च पदस्थहरू सेवा निवृत्त भएपछि सेवा कसरी सुधार गर्ने भनेर अर्ती बाँड्न लालायित हुन्छन् । जीवनभर न्यायमूर्तिका रूपमा रहेका व्यक्तिहरू निवृत्त भएलगत्तै देशको न्यायलायकै पुनर्निर्माणको खाका पस्कँदै हिँड्छन् । उमेर पुग्यो अब कार्यप्रभावकारिता र परिणाम दुवै नदेखिन सक्छ भनेर राज्यले कर्मचारीलाई एउटा निश्चित उमेरमा निवृत्ति दिन्छ । आराम गर्नुहोस् र घरै बस्नुहोस् भनेर पेन्सन पनि दिन्छ ।
सेवारत रहँदा चाहिँ खासै उल्लेख्य काम नगरेका अधिकांश ती मानिस आफू गजबै काम गर्न सक्ने भन्दै राज्यको निष्कर्षविरुद्घ विभिन्न ठाउँमा गएर देश सुधार्ने बेमौसमी अर्ती दिइरहेका हुन्छन् । राज्यले अब तपाईं काम गर्न सक्नुहुन्न भनेर पेन्सन दिएको व्यक्तिले काम गर्न सक्छु भन्नु राज्यविरुद्धको अपमान तथा बर्खिलाप होइन । अनि गर्न सक्छु भनेर अन्यन्त्र गएर काम पनि नगर्नु त झनै अपराधको अर्को हद होइन र ? अनि ती सबैको भाष्य हुन्छ, देश सुध्रिएन । कस्ले भनिदिने देश सुध्रन पहिले हामी सुध्रनुपर्छ ।
चिकित्सा ऐन बन्दा चिकित्सकबाट नै अन्धाधुन्ध आक्रामक अवरोध हुन्छ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा व्यापारी÷व्यवसायीको प्रतिरोध आउँछ । राज्यको कर प्रणालीलाई पारदर्शी र योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागू गर्न, मजदुर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षाकोषमा समाहित हुन अनि बैंकमार्फ तलब भुक्तान गर्नसमेत अनिच्छा देखाइन्छ । किनकि त्यसो गर्दा पारदर्शी हुनुपर्ने बाध्यता हुन्छ । प्रशासन सुदृढीकरणमार्तफ चुस्त, किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन । ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे भोलि भन्ने र अधिकांश समय चिया पसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छ ।
शिक्षालाई उत्तरदायी स्तरीय तथा आधुनिक बनाउने योजनामाथि विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ । बजार अनुगमन भए स्वयं बिक्रेताहरू आन्दोलनमा उठ्छन् । न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माणसम्बन्धी काममा केही सुधार गर्न खोज्दा ठेकेदारहरूको विकराल असहयोग साथै विरोधमा विशाल शक्ति प्रदर्शनसमेत हुन्छ । झन्डै आठ खर्ब रुपैयाँ कर छली भएका तथ्यांकहरू बाहिरिँदैछन् । कर प्रणालीका सुधारमा व्यापारी व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाटै अवरोध हुन्छ । हरेक क्षेत्रमा कानुनको उचित पालना र कार्यान्वयन नभएकोमा सरकारलाई निरन्तर दबाब दिने सञ्चार क्षेत्र आफैंसमेत कानुन अनुसार नियमन भएर बस्ने धैर्य राख्दैन । सबैमा केवल गाली मोह, विरोधको आदत छ ।
नेतृत्वले नैतिकता देखाए र नागरिकले साथ दिए के हुँदैन ? महाशक्ति अमेरिकाको कठोर नाकाबन्दीबीच क्युवाको इतिहास सफलताको साक्षी छ । तर हामी गन्तव्यमा सचेत छैनौं, मन्तव्यचाहिँ शानदार दिन्छौ । यहाँ देश बन्नु नबन्नुमा कसैलाई चिन्ता छैन, केवल आफू बन्ने दौडाहा र हतारोमात्र छ । हाम्रो नेतृत्व असफल त अवश्य छ तर नागरिक पनि संवेदनाहीन हुँदैछौं । नेताहरूले केही नगरेको भनेर बिगुल बजाउँछौं अनि तिनैका पछि टोपी फुकालेर दौडन्छौं । हामी खाली अरूका बारेमा बढी जानकार रहन्छौं ।
सबै सुध्रएको हेर्न चाहन्छौं तर पेसाकर्मी, व्यवसायी, शिक्षक, वकिल, सामाजिक अभियन्ता, विकास सहजकर्तालगायत सरोकारवाला आफूसमेत सुध्रनुपर्छ भन्ने मान्न र त्यसको पहल गर्न तयार छैनौ ं। अहिले हरेक क्षेत्र व्यापारमा परिणत हुँदैछ, सबै सरोकारवाला आफ्नो क्षेत्रबाट अकुत वाञ्छित तथा अवाञ्छित नाफा वा आम्दानी गर्ने रेन्ट सिकिङ एटिच्युडबाट ग्रसित छौं । नेतृत्वलाई सुध्रन दबाब अथवा नयाँ विकल्प पनि दिँदैनौं । खराब छन् भन्ने जान्दाजान्दै पुनः त्यही प्रवृत्तिका सोही पात्रलाई निर्वाचनमा जिताउँछौं अनि फेरि केही नगरेको भनेर कटाक्षेप गर्न थालिहाल्छौं । यस्तो सौखिन र विलासी औपचारिकताले देश अरूको परीक्षण प्रयोगशाला बन्दैछ, बेलैमा सचेत हुनुपर्छ ।
सबैले आफ्नो आफ्नो ठाउँबाट राम्रो गरौं । अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैंबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले आफ्नो काम गर्न सिकौं । अहिलेसम्म बिग्रनुमा जिम्मेवार सबै छौं, सुधार्ने र सपार्ने प्रयास सबैले गरौं । नागरिक नै नसुध्रिएसम्म नेतृत्व सुध्रँदैन । मनन् गरौं, हामी सबै सुध्रियौं भनेमात्र देश सुध्रने हो, देश बन्न पहिले हामी बन्नु पर्छ ।