११ असार २०८२, बुधवार

जलथलमा मासिदै दुर्लभ जीव र बनस्पतिहरु

२० जेठ २०८२, सोमवार
Image

झापा, १९ जेठ । ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जंगलका दुर्लभ बनस्पति र जीवहरु लोप हुने जोखिममा पुगेका छन् ।

हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जंगलमा लटहर, थाकल, भोटे लहरा जस्ता दुर्लभ बनस्पतिहरु अस्तित्वमा रहेका छन् । यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’ समेत पाइएको थियो । 

नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरु पाइन्छन् । जसमध्ये १५५ वटा अर्थात एक चौथाइ प्रजातिका रुखहरु जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा. लिलानाथ शर्माले बताउनुभयो । धेरै प्रजातिको रुख पाइएकोले यस जंगललाई “रुखहरुको राजधानी” पनि भनिन्छ ।

समुन्द्र सतहबाट ७० देखि १०० मिटरसम्म उचाईमा रहेको जलथल जंगलमा २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा, १४ प्रकारका भ्यागुता र ३२ प्रजातिका सरिसृप अध्ययनका क्रममा भेटिएका छन् । 

नेपालको बन क्षेत्रमा जलथलले ०.१ प्रतिशत मात्र अंश ओगटेको छ । यति थोरै भूगोलमा यति धेरै जैविक विविधता विश्वमा अन्यत्र पाउन नसकिने उहाँ बताउनुहुन्छ । जसमध्ये नेपालमा हालसम्म अभिलेख नगरिएका छ प्रकारका रुखका प्रजाति र तीन प्रकारका साना बनस्पति यहाँ पाइएको उहाँले बताउनुभयो ।

“दुई तीन वर्ष जति भयो कसैले पनि जंगलमा मुसे मृग देखेको बताएका छैनन्,” उहाँ भन्नुहुन्छ– “सम्भवतः यो सानो सुन्दर जनावरको अस्तित्व जलथलबाट लोप भइसकेको पनि हुनसक्छ ।”

अरु प्रकारको मृगभन्दा ज्यादै सानो हुने भएकाले यस प्रजातिलाई मुसे मृग भनिएको हो । रुखबाट झरेर ठूला पातहरु र झाडीमा लुक्ने लजालु स्वाभावको यो मृग चोरी शिकारी र घरपालुका कुकुरको प्रवेशले जंगलबाट लोप भएको अनुमान छ ।

नेपालमै ‘लटहर’को जंगल जलथलमा मात्र पाइएको छ । कटहरको जस्तै हाँगा र ३० मिटरसम्म अग्लो रुख हुने लटहर फल फल्ने दुर्लभ रुख हो । कोशी पूर्व कहिँकतै एक दुई वटा यसका रुख देखिएको भए तापनि जलथलमा यसको जंगल नै भन्न सकिने गरी रुखहरु रहेको अनुसन्धानकर्ता डा. शर्माको भनाई छ ।

“जलवायू परिवर्तन र मिचाहा झारको प्रकोपका कारण लटहरको पुनरुत्थान हुन नसक्नु खतराको संकेत हो,” बिगत छ वर्षदेखि जलथल जंगलको अध्ययन गरिरहनु भएको उहाँ भन्नुहुन्छ–“घाँस र दाउरा काट्ने क्रमले भएका रुखहरुको अस्तित्व पनि जोखिममा परिसकेको छ ।”

नयाँ लाथ्रा नहुर्किने र भएका रुखहरु मासिने क्रमले जलथलमा लटहरको जंगल थियो भनेर एकादेशको कथा सुनाउने दिन भविष्यमा नआउला भन्न नसकिने उहाँले बताउनुभयो । पहाडमा मात्र पाइने ठानिएको उत्तिस, टिमुर, भोटे लहरा लगायतका बनस्पति यहाँ पाइएको छ ।

भोटे लहरा र थाकल अति दुर्लभ बनस्पति हुन् । डा. शर्माका अनुसार जीव र बनस्पतिको उद्भवकालमा दुबै गुण लिएर सेतुको रुपमा विकास भएको बनस्पतिमा थाकल पर्दछ । यी बनस्पति लोप भसकेको डाइनोसरकालदेखि हालसम्म अस्तित्वमा रहेको मानिन्छ । उन्यूको जस्तो पात र कोणधारीको जस्तो बीउ हुने यो बनस्पतिलाई विश्व संरक्षण संघ (आइयुसीएन)ले संकटापन्न सूचीमा राखेको छ ।

जंगलमा मानव अतिक्रमण बढ्दै जाँदा थाकलको टुप्पो काटिदिने, पातलाई घासको रुपमा खुवाउने र मिचाहा झार माइकेनियाले नयाँ विरुवा हुर्किन नदिने समस्या देखिएको छ । नेपालमै अहिलेसम्म सबैभन्दा मोटो भोटे लहरा जलथलमा भेटिएको उहाँले बताउनुभयो । 

सालक, लाम्चे कछुवा र हात्ती अति संकटापन्न सूचीमा सूचीकृत भइसकेको जीव हुन् । प्राकृतिक बासस्थानको रुपमा रहेको जंगल र सिमसार मासिने क्रम बढेकाले यी जीवहरु लोपोन्मूख अवस्थाबाट गुज्रिरहेका छन् ।

दुर्लभ मानिएका बाँदरझुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सी लगायतका फलफूलहरु जलथलमा पाइएका छन् । प्राकृतिक जंगल क्षेत्रमै सामुदायिक बनहरुले टिक, मसला, रबर जस्ता रुखहरु हुर्काउने गर्नाले रैथाने जीव र प्राकृतिक बनस्पतिहरु प्रभावित बनेका छन् ।

जलथल जंगलमा २२ वटा सामुदायिक बन सञ्चालनमा रहेका छन् । काठ तथा बन्यजन्तुको चोरी शिकारी, मानव अतिक्रमण, बन व्यवस्थापनका कमजोरी र ग्रामीण बासिन्दामा पर्यावरणीय चेतनाको कमी नै यहाँका दुर्लभ जीव तथा बनस्पति लोप हुने प्रमुख कारण हुन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।