झापा, २० असार । मेचीनगरमा नेकपा एमालेका दुई प्रखर युवा राजनीतिक कार्यकर्ताले राजनीतिक भविष्यप्रति निराश हुँदै वैदेशिक रोजगारीको यात्रा सुरु गरेका छन् ।
बाहुनडाँगीको भूगोलबाट राजनीतिमा उदाएका टिकाराम मग्राती र प्रविण भण्डारीले फेसबुकमा भावुक स्टाटस लेख्दै राजनीतिलाई चटक्कै छाडेर वैदेशिक रोजगारीको बाटो समाउनु भएको हो ।
हरेक दिन हजारौं नेपाली युवा विदेश जान हातमा पासपोर्ट बोकेर एयरपोर्टमा लाम लागेका भेटिन्छन् । मग्राती र भण्डारी पनि त्यसरी नै लामवद्ध होलान् भनेर कसैले अनुमान गरेका थिएनन् । उहाँहरु विदेशिएका युवालाई स्वदेशमै सम्भावना देखाउन सक्ने राजनीतिक दलका युवा नेता हुनुहुन्थ्यो । आज उहाँहरु आफै त्यो सम्भावना सकिएको सन्देश दिने पात्र बन्न विवश हुनुभएको छ ।
एमालेका जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पूरा गरिसक्नु भएको मग्रातीले असार १९ गते काठमाडौं बिमानस्थलमा राष्ट्रिय झण्डा काँधमा भिरेको विदाई फोटो फेसबुकमा पोस्ट गरेपछि मात्र उहाँ विदेश जानु भएको धेरैले थाहा पाए ।
उहाँ कतारको दोहा हुँदै आज यूरोपको रोमानिया पुग्दै हुनुहुन्छ । उहाँले विदाइको भावुक स्टाटसमा २२ वर्ष लामो राजनीतिक जीवनमा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिने सबैप्रति आभार प्रकट गर्नु भएको छ ।
मेचीनगरमा सम्भावना बोकेको युवा नेता मानिएका प्रविण भण्डारी गत जेठ २२ गते कतार जानु भएको हो । उहाँले पनि विदेश जाने बेलामा साथीभाइको आँखा रसाउने गरी भावुक स्टाटस लेख्नु भएको थियो ।
“जीवनको आधा बाटो तय गरिसकेपछि समुन्द्र तर्ने निधो गरेँ,” भण्डारीले लेख्नु भएको थियो–“यो आधा बाटोमा म विद्यार्थी र शिक्षक भएँ, भोटर र कार्यकर्ता भएँ, व्यवसाय गरेँ, सार्वजनिक चासोका विषयमा सक्रिय रहेँ । कति धेरै आफन्त, साथी र अग्रजको न्यानो धाप, माया र स्नेह पाएँ । तिर्नै नसिकने गुण पाएँ । केही समय मुलुक बाहिर बसेर अनुभव, शीप र सकेको पूँजी बोकेर फेरि फर्किनेछु : राजनीति, व्यवसाय र समाजसेवामा । विमान चढ्नु अघि यति भन्छु ः मसँग कसैप्रति वैरभाव, रीस वा घृणा केही पनि छैन, प्रेम मात्रै छ ।”
भण्डारी नेकपा एमालेको मेचीनगर वडा नं. ४ को पूर्व वडा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ बाहुनडाँगी जेसिजको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०७८ को नगर चुनावमा पार्टीका तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बन्ने चाहना राख्नुहुन्थ्यो ।
अनेरास्ववियूबाट सानै उमेरमा राजनीतिक जीवन सुरु गर्नु भएको अर्का एमाले नेता मग्राती बहुप्रतिभाशाली युवा हुनुहुन्थ्यो । २०७४ नगर चुनावबाट मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचित उहाँ विद्यार्थी, दलित, मानवाधिकार लगायतका क्षेत्रमा एमालेका जुझारु नेता हुनुहुन्थ्यो ।
२०७८ को नगर चुनावमा उपप्रमुखको आकांक्षी उहाँ लामो समयदेखि पार्टीमा जिम्मेवारीविहीन हुनुहुन्थ्यो । एमालेको झापा १ नं. क्षेत्रीय कमिटीको संयोजक समेत भएर पार्टीको निर्वाचन क्षेत्र हाँक्ने भूमिका निर्वाह गरिसक्नु भएको मग्रातीले फेसबुकमा भावुक विदाई स्टाटस हालेपछि मात्र पार्टीका नेता तथा शुभेच्छुकहरुले उहाँको वैदेशिक रोजगारीको यात्रा बारे थाहा पाएका थिए ।
“२२ बर्षको सक्रिय राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष साथ दिने साथीभाइ, आफन्त, पार्टी नेतृत्व र सहकर्मीहरुलाई मनदेखि सम्झिएको छु,” उहाँले लेख्नु भएको छ–“म बन्नुमा तपाईहरुको धेरै लगानी छ । केहि बर्षको लागि म देश बाहिर हुने निर्णय गरेँ । यात्रामा फेरि भेट हुनेछ । फेरि उस्तै हातेमालोको विश्वास लिएको छु ।”
मग्राती र भण्डारीको देश छाडेर विदेशको भूमिमा रोजगारीका लागि जाने घटनाप्रति उहाँहरुको दर्जनौं साथीले फेसबुकमै रोदन र मार्मिक प्रतिक्रियाहरु दिएका छन् ।
अनेरास्ववियूका केन्द्रीय सचिव मनोज ताम्लीले मग्रातीलाई झापामा एमालेको राजनीतिक वृत्तमा ओली समूहको जग हाल्ने युवा नेताको रुपमा सामाजिक सञ्जालबाटै सम्मान व्यक्त गर्नु भएको छ ।
“२० वर्षदेखि सक्रिय राजनीति मात्र गरेको दाइ विगत केही समयबाट पार्टीमा भूमिकाविहिन हुनुहुन्थ्यो,” ताम्लीले लेख्नु भएको छ–“जिम्मेवारीका लागि पटकपटक नेतृत्वसंग आग्रह गरियो । तर दाइलाई जिम्मेवारी दिलाउन सकिएन । आज दाइलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदा गरिरहँदा धेरै प्रश्नहरु मनमा उठेका छन् । सबै कुरा शब्दमा व्यक्त गर्न नसकिएला तर मेरो राजनीतिक जीवनमा सँधै एक असल अभिभावकको रुपमा रहनु भयो ।”
युवा संघकी पूर्व केन्द्रीय सचिव रोजिना पाण्डेले पनि मग्रातीको वैदेशिक रोजगारी यात्रामा आफ्नो धारणा व्यक्त गर्दै लेख्नु भएको छ–“राजनीतिक सहकार्यले बनाएको यो सम्बन्ध आज निकै प्रगाढ मात्र हैन नेकपा एमालेलाई जहिलै मजबूत बनाउन अग्रसर हुने झापाली नेता हो तपाई । दाई तर, आज थुप्रै प्रश्नहरू अनुत्तरित नै रहेका छन् । वैदेशिक यात्रा सुखद् रहोस्, उज्जवल भविष्यको कामना ।”