नमुना फोटो ।
झापा, ४ साउन । खुला सीमाका कारण झापा जिल्लामा लागू औषधको कारोवार बढे तापनि प्रहरीले कारोवारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ ।
लागू औषधको ओसारपसार, विक्री वितरण र भण्डारणविरुद्ध आक्रामक कार्वाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलो मात्रामा लागू औषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । जसलाई प्रहरी अभियानको उपलब्धिको रुपमा हेरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५५९ जनालाई लागू औषधको कारोवार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ वटा मुद्धा दर्ता भएको छ ।
वर्षेनी यस्तो संख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०/८१ मा ४६२ जना कारोवारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो संख्या १६.५ प्रतिशतले बढेको छ ।
‘कि जेलमा कि सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । बिगत एक वर्षमा झापा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा चेकजाँच गर्दा पक्राउ परेका १४० जना प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पुर्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागू औषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्याउने हानी बारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबीच साझेदारीमार्फत कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
समुदायसँग मिलेर दूव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । जस अन्तर्गत ‘दूव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेन्स नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाई छ ।
उहाँका अनुसार आव २०८१/८२ मा झापामा एक हजार ६५१ केजी गाँजा र दुई केजी ८८२ ग्राम ब्राउन सुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागू औषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ ।
कोशी प्रदेशमा आव २०८१/८२ मा लागू औषधविरुद्धको अभियानमा दुई हजार ३७ जना व्यक्तिमाथि कानूनी कार्वाही भएको छ । यसैगरी, २२ हजार केजी गाँजा र चार केजी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
झापाको मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागू औषधको कारोवार अधिक हुने गरेको छ । पूर्वीनाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागू औषधसहित कारोवारी र प्रयोगकर्ता पक्राउ गदै आएको छ ।
प्रहरी सीमावर्ती क्षेत्रको चेकजाँचमा सक्रिय हुन थालेपछि कारोवारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ । विर्तामोड नगरपालिका वडा नं. ५ स्थित मनकुमार संग्रौलाको दुई तले घरको भुइँतलामा दुई वटा कोठा भाडामा लिएर लागू औषध र प्रतिबन्धित औषधि ठूलो मात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बताउनुभएको छ । औषधि पसलले नै लागू औषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो ।
स्थानीयबासीले लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठाहरु विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।
अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामानहरु पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ ।
भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागू औषधको रोकथाम र नियन्त्रण चुनौतिपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागू औषध भित्राउने र कारोवार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाज समेत चिन्तित पाइएको छ ।