७ साउन २०८२, मङ्गलवार

झापाको दुई हजार हेक्टरमा डिप ट्यूववेलबाट सिञ्चाई

६ साउन २०८२, सोमवार
Image

झापा, ५ साउन  । भूमिगत जल सिंचाई आयोजना झापाले दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा पुर्याइसकेको जनाएको छ । 

आयोजनाले तीन बर्षको अवधिमा जिल्लाका १३ पालिकामा ५५ वटा डिप ट्यूववेलमार्फत सिञ्चाई सुविधा पुर्याएको कार्यालयका प्रमुख कामेश्वर यादवले बताउनुभयो । झापामा वि.सं. २०७९ देखि आयोजनाले काम गर्न थालेको हो ।

नदी सिंचाई प्रणाली नपुगेका र आकाशे पानीको भरमा खेती भइरहेको स्थानमा बाह्रै महिना सिञ्चाई उपलब्ध गराउन आयोजनाले डिप ट्यूववेल बिस्तार गरिरहेको आयोजना प्रमुख यादवले बताउनुभयो । 

आयोजनाले कचनकवल गाउँपालिकाको सात वटै वडा र भद्रपुर नगरपालिकाको वडा नं. १, २ र ३ लाई लक्षित गरेर काम थालनी गरे तापनि हाल १३ वटा पालिकामा कार्यक्रम विस्तार गरिसकेको छ । 

पाँच बर्षे गुरुयोजना अनुसार सरकारले रु. दुई अर्ब ५२ करोडको लागतमा जिल्लामा १७५ वटा डिप ट्यूववेलमार्फत सात हजार हेक्टर जमिनमा बाह्रै महिना सिञ्चाई उपलब्ध गराउने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, विर्तामोड, कनकाई, शिवसताक्षी, बाह्रदशी, हल्दिबारी गौरीगञ्ज लगायतका पालिकामा थप ८५ वटा डिप ट्यूववेलको भौतिक निर्माण कार्य हालै सम्पन्न भएको छ । 

शतप्रतिशत अनुदानमा आधारित कार्यक्रम रहे तापनि बजेट अभावमा विद्युतीकरण र पाइप विस्तारको काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । नदीको सिञ्चाई नपुगेका उर्वर जग्गामा सिञ्चाइको सुविधा पु¥याएर कृषिको उत्पादकत्व बढाउन योगदान पु¥याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो । 

आयोजनाबाट सिञ्चाई सुविधा लिन ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरे बमोजिम आयोजनाले सिञ्चाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आयोजनाले कचनकवल गाउँपालिकाको वडा नं. १ देखि ७ नम्बरमा २० वटा, भद्रपुर नगरपालिकाको १, २ र ३ वडामा १२ वटा र अन्य पालिकाहरुमा २३ वटा डिप ट्यूववेलमार्फत सिञ्चाई कार्य भइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०८३÷०८४ सम्ममा जिल्लाका सबै स्थानमा सञ्चालित भूमिगत जल सिञ्चाई आयोजनाको कामहरु लक्ष्य अनुसार नै सम्पन्न भइसक्ने उहाँले बताउनुभयो ।