७ साउन २०८२, मङ्गलवार

महावीरको किताबबाट संकलित रु. १२ करोड आविष्कार केन्द्रलाई

७ साउन २०८२, मङ्गलवार

झापा, ६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति विक्री भएको छ ।

केन्द्रको सहयोगार्थ पुस्तक विक्रीका लागि विर्तामोड आउनु भएको डा. पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक विक्रीबाट रु. १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य रु. ७५० रहेको छ ।

पुस्तक विक्रीबाट प्राप्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो ।

पुस्तक विक्रीका लागि एक सातादेखि झापामा रहनु भएको उहाँलाई संस्थागत र व्यक्तिगत रुपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ । 

विर्तामोड नगरपालिकाले सोमवार एक कार्यक्रमको आयोजना गरी केन्द्रको सहयोगार्थ रु. ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ ।  

नगर उपप्रमुख पवित्रा महतरा प्रसाईले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोडले पुस्तक किन्नका लागि सहकारीको कार्यालयमै एक कार्यक्रमको आयोजना गरेको थियो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उहाँको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनु पर्ने बताउनुभयो ।

विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्ति लगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरुको अगुवाईमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ ।

विर्तामोडमा सोमवार आयोजित कार्यक्रममा बोल्दै डा. पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरुलाई आग्रह गर्नु भयो । “देशका लागि आ–आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ,” उहाँको भनाई थियो– “सामाजिक सञ्जालमा नेताहरुलाई गाली गरेर मात्र हुँदैन ।”

उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरणहरू भविष्यमा पालिकाका साना किसानहरूका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।