८ साउन २०८२, बुधवार

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते

७ साउन २०८२, मङ्गलवार
Image

झापा, ६ साउन । हल्दिबारी गाउँपालिका वडा नं. ४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् ।

स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथ्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उहाँको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीय बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन् । घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ । 

घाइते चारै जनालाई स्थानीयबासी भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो । घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेहरुलाई बिराटनगर रेफर गरिएको बताइएको छ । 

विहान पौने ९ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

यसैगरी, कचनकबल गाउँपालिका वडा नं. ६ बनियानीस्थित रतनलाल राजबंशीको भान्सा घरमा सोमवार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुल्हो डढेर क्षति भएको छ ।

आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।