१० साउन २०८२, शुक्रवार

नगरप्रमुख भन्नुहुन्छ–‘विपद् व्यवस्थापन टोली २० मिनेटमै पुग्छ’

९ साउन २०८२, बिहिवार
Image

मेचीनगर, ८ साउन । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगरभित्रको कुनै पनि स्थानमा मनसुनजन्य विपद््को समस्या भए बाटो उद्धार टोली २० मिनेटभित्रै पुग्ने बताउनु भएको छ ।

हालै नगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा नगरप्रमुख बुढाथोकीले उक्त कुरा बताउनु भएको हो ।

‘बाटो बिग्रिएको छैन भने,’ उहाँले भन्नुभयो –‘विपद् व्यवस्थापनमा खटिएको टोली २० मिनेटभित्रै पुग्न सक्छ ।’

मेचीनगरले बाढी लगायतका मनसुनजन्य विपद्को व्यवस्थापनका लागि १५ वटै वडामा सुरक्षाकर्मीसहितको २५ सदस्यीय व्यवस्थापन समिति गठन गरिसकेको जनाएको छ ।

प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न र राहत तथा उद्धार कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नगरपालिकाले सर्वदलीय छलफल गरेको हो ।

विपद् व्यवस्थापनका लागि विगत नगपालिकाले दमकल, एम्बुलेन्स, स्काभेटर, डोजर लगायतका साधनहरू तयारी अवस्थामा राखिएको जनाएको छ ।

तारजाली, बोरा, ह्युमपाइप लगायत तत्काल विपद्का बेला प्रयोगमा आउने सामग्रीहरु खरिद गरिएको छ । 

छलफलमा वडाध्यक्षहरु अर्जुनकुमार कार्की, गिरीराज धमला, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रुपक काफ्ले, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरे, नेपाल रेडक्रस सोसाइटी मेचीनगरका सचिव सोमराज ढकाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका उपाध्यक्ष ध्रुव गिरी लगायतले विपद् व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।

छलफलमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका रणनीतिक र कार्यनीतिक विषयमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रकाश पार्नु भएको थियो ।