२९ साउन २०८२, बुधवार

विर्तामोडको अर्गानिक अभियान : ‘पारिको होइन, वारिको खाउँ’

२७ साउन २०८२, सोमवार
Image

झापा, २६ साउन । विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी विक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौला, करेला लगायतका तरकारी नगरभित्रैका कृषकको अग्र्यानिक उत्पादन हुन् ।

“यहाँ किनेको सब्जीहरुमा विषादी छैन भन्नेमा ढुक्क छु,” उहाँ भन्नुहुन्छ– “बजारको जुन पायो त्यही सब्जी किनेर खाँदा रोगले गाज्ला भन्ने डर छ । सामुदायिकको तरकारी अन्यत्रभन्दा सस्तो र ताजा पनि छ ।” पहिले पहिले पारि (भारत)बाट आयातित सब्जी किनेर खानु पर्ने बजारको बाध्यात्मक अवस्था फेरिएको बताउँदै उहाँले अहिले वारि (स्वदेश)कै उत्पादन खान पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

केही वर्ष अघिसम्मको चलन हेर्ने हो भने पूर्वी झापाको विर्तामोड, भद्रपुर, चारआली, धुलाबारी र काँकडभिट्टाका धेरै गृहिणीहरु भान्सामा प्रयोग हुने लगायतका सामान किन्न सीमावर्ती भारतीय बजार पानीटंकी, नक्सलबाडी र गलगलिया जाने गर्दथे । स्थानीय बजारमा पनि आयातित तरकारी तथा फलफूलको छ्याप्छ्याप्छती विक्री हुने गर्दथ्यो । आयातित तरकारीले नै नेपाली बजार ओगटेको थियो । विर्तामोडको कृषि थोक बजारमा एकाविहानै भारतबाट आइपुग्ने तरकारी र फलफूल हरेकको भान्सामा सहजै पुग्थ्यो ।

अहिले अवस्था फेरिएको छ । विर्तामोडका गृहिणीहरु भान्साको सामान किन्न भारत धाउँदैनन् । आफ्नै पालिकामा फलेका ताजा, विषादीमुक्त र अग्र्यानिक सागसब्जी उनीहरुको रोजाई बनेको छ । पारिको साटो वारिकै तरकारी उपभोग गर्ने अवस्थामा नगरबासीलाई ल्याउन विर्तामोड नगरपालिकाले निकै ठूलो लगानी र मिहेनत गरेको छ ।

भारतबाट आयातित तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष जाँच गर्दा खान अयोग्य पाइएको समाचार सञ्चार माध्यममा पटकपटक आउने गर्छ । आयातित तरकारीमा विषादीको अवशेष धेरै भेटिए पछि विर्तामोड नगरपालिकाले यसको विकल्प खोज्ने क्रममा स्वदेशमै उत्पादन बढाउने र बजारीकरणमा सघाउने योजना बनाएको हो ।

वि.सं. २०७५ मा विर्तामोडका तत्कालीन नगरप्रमुख ध्रुव शिवाकोटीले भारतबाट आयातित मरेका माछा विक्रीमा रोक लगाउने नीति लागू गर्नुभयो । उहाँकै पालामा ‘मेयर विषादीमुक्त नगर’ भन्ने विशेष कार्यक्रम नगरपालिकाले सुरु गर्यो ।

यो कार्यक्रमले नगरभित्र निर्वाहमुखी खेती गरिरहेका किसानहरुलाई संगठित गरेर व्यावसायिक बन्न तालिम, सीप, उपकरण, बिउ, मल, अनुदान र प्राविधिक सहयोग दियो । यो कार्यक्रम आठ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ ।

नगरको कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार नगरमा हाल १५७ जना व्यावसायिक तरकारी कृषक सूचीकृत भएर ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रममा जोडिएका छन् । उनीहरुले उत्पादन गरेको अग्र्यानिक तरकारी तथा फलफूल विक्रीको उचित व्यवस्थापनका लागि नगरपालिकाले सात वटा सामुदायिक तरकारी विक्री केन्द्र र एउटा मुख्य संकलन केन्द्र सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

‘पारिको होइन, वारिको खाउँ’

आयातित तरकारीमा अनियन्त्रित विषादीको अवशेष हुने र परनिर्भरता पनि बढ्ने भएकाले त्यसको विकल्प खोजिरहेको विर्तामोड नगरपालिकाले गत वर्षको साउन ७ गते आफ्नै सामुदायिक तरकारी विक्री केन्द्रको सुरुवात गर्दै आह्वान गर्यो–‘पारिको होइन, वारिको खाउँ’ ।

हाल ‘पारिको होइन, वारिको खाउँ’ भन्ने नारा अन्तर्गत नै नगरको कृषि विकासका विभिन्न परियोजनाहरु सफलतापूर्वक अघि बढिरहेका छन् । उपभोक्ताले आफ्नै नगरमा उत्पादन भएको ताजा तरकारी खान पाएका छन् । नगरमा अहिले यो नारा लोकप्रिय मात्र बनेको छैन, आत्मनिर्भर अभियानमा हरेक नगरबासी जोडिन पुगेका छन् ।

नगरप्रमुख पवित्रा महतरा प्रसाईले नगरपालिकाले वर्षेनी डेढ करोडभन्दा बढी बजेट कृषिमा लगानी गरिरहेको जनाउँदै यसबाट उत्पादन बढेको बताउनुभयो । किसानको उत्पादनले उचित दाम पाउन सकोस् भनेर समर्थन मूल्य तोकिएको र किसानलाई मूल्यको ग्यारेन्टी गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम् समर्थन मूल्य तोकेको छ । नगरमा सूचीकृत किसानले फलाएको उत्पादनले न्यूनतम् मूल्य नपाएमा नगरपालिकाले क्षतिपूर्ति वापत रकम भुक्तानी दिने गरेको छ । 

यो वर्ष समर्थन मूल्य प्रति केजी बोडी रु. ३०, लौका २७, टमाटर रु. ३०, भेडे खुर्सानी रु. ५१, घिरौला रु. २६, करेला रु. ३२, बैगुन रु. २६, सिमी रु. ४६, भिण्डी रु. ३६, काउली रु. २६ र बन्दा रु. २४ तोकिएको कृषि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।

रोजाई बन्दैछन् सामुदायिक विक्री केन्द्र

‘पारिको होइन, वारिको खाउँ’ भन्ने कार्यक्रमको परिकल्पना गर्नु भएकी नगरप्रमुख प्रसाईले सामुदायिक तरकारी विक्री केन्द्र सञ्चालनको पहिलो वर्षमै रु. ७३ लाख २३ हजार ५४० मूल्य बराबरको स्थानीय उत्पादन विक्री भएको बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको मुख्य संकलन केन्द्रमा स्थानीय किसानले फलाएको २७६ मेट्रिक टन तरकारी विक्रीका लागि ल्याइएको थियो । बजारको उतारचढावका कारण उचित मूल्य नपाएका ६७ जना किसानले एक वर्षमा न्यूनतम् समर्थन मूल्यवापत रु. १२ लाख ८१ हजार ८८७ भुक्तानी पाएका छन् ।

विर्तामोड–७ स्थित हाम्रो कृषि फार्मले न्यूनतम् समर्थन मूल्य वापत यसवर्ष सबैभन्दा बढी रकम रु. पाँच लाख ३४ हजार ५११ पाएको छ । फार्मका सञ्चालक प्रदिप खनालले ४० बिगाहा जग्गा लिजमा लिएर धान, तरकारी र फलफूलको खेती गर्दै आएको बताउनुभयो ।

“नगरपालिकाले किसानलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम ल्याएकै कारण हामी जस्ता युवा विदेश जान छाडेर कृषि पेशामा रमाइरहेका छौं,’ सात वर्ष अघि ठेक्कापट्टा व्यवसाय छाडेर कृषिमा समर्पित भएर लाग्नु भएको खनालले भन्नुभयो–“३० बिगाहामा धान र १५ बिगाहामा फलफूल लगाएको छु । १६ कठ्ठामा बोडी खेती गरेको छु ।”

सोह्र कठ्ठामध्ये आठ कठ्ठामा उहाँले दैनिक ५०० केजी बोडी फलाएर नगरपालिकाको सामुदायिक तरकारी विक्री केन्द्रमा पुर्याइरहेको बाताउनुभयो । कृषिबाटै वार्षिक रुपमा रु. एक करोड मुनाफा गर्दै आएको उहाँको भनाई छ ।

नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले किसानले फलाएको तरकारी तथा फलफूलको विषादी अवशेष जाँचेर खान योग्य प्रमाणित भएपछि मात्र सामुदायिक विक्री केन्द्रमा पठाउने गरिएको बताउनुभयो ।

“किसानको उत्पादनको सही मूल्य र उपभोक्ताको स्वास्थ्य जस्ता महत्त्वपूर्ण विषयमा हामीले ध्यान दिने गरेका छौं,” उहाँले भन्नुभयो–“विक्री केन्द्रमा समेत हरेक बस्तुको मूल्यसूची राख्ने व्यवस्था मिलाएका छौं ।”

आयात प्रतिस्थापनमा योगदान

आफ्नै बारीको तरकारी खान प्रोत्साहित गरेर विर्तामोडले नगरपालिकालाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेको छ । यसबाट आयात प्रतिस्थापन भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने नगरका उपप्रमुख संग्रौला बताउनुहुन्छ ।

पछिल्लो जनगणना अनुसार विर्तामोडमा एक लाख १६ हजार १९२ जनसंख्या र २९ हजार ८५२ परिवारको बसोबास छ । भाडा र डेरामा बसोबास गर्नेहरुको आँकडा जोड्ने हो भने जनसंख्या दुई लाख पुग्ने सम्भावना छ ।

पूर्वीनाका काँकडभिट्टा हुँदै भारतबाट वर्षेनी करोडौंको तरकारी तथा फलफूल नेपाल भित्रिने गरेको छ । जसको अधिकांश हिस्सा झापामा विक्री हुन्छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट रु. ३८ करोड ३२ लाख १८ हजारको २१ हजार ५९ मेट्रिक टन ताजा तरकारी, रु. ३८ करोड ११ लाख २१ हजारको सात हजार ७०३ मेट्रिक टन ताजा फलफूल, रु. ६४ करोड १५ लाख २० हजारको पाँच हजार ३४६ मेट्रिक टन लसुन र रु. ७३ करोड ८६ लाख ९६ हजारको ३० हजार ७७९ मेट्रिक टन आलु आयात भएको छ ।

“पारिको निर्भरता घटाउने भन्नासाथ आफ्नै बारीमा कसरी पर्याप्त मात्रामा तरकारी फलाउने भन्ने सोच्नु पर्ने हुँदोरहेछ,” उपप्रमुख संग्रौला भन्नुहुन्छ–“हाम्रा प्रयासहरु त्यही दिशामा अग्रसर छन् । नगरपालिकाले एक कृषक समूह एक उत्पादनको अभियानलाई सार्थक रुपमा सञ्चालन गरिरहेको छ । यसबाट आत्मनिर्भरताको राम्रा परिणामहरु प्राप्त भइरहेका छन् ।”

विर्तामोडको कूल क्षेत्रफल ७८ वर्ग किमिमध्ये ९२ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन रहेको जनाउँदै २४ प्रतिशतभन्दा बढी जमिनमा बाह्रैमास सिञ्चाइको सुविधा रहेको छ । नगरको अग्र्यानिक कृषि अभियानले भान्साको आवश्यकता पूरा गर्न भारत जाने पैसा स्वदेशमै रोकिएको वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई बताउनुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।