३० साउन २०८२, बिहिवार

हाम्रो मेचीनगर

कार्यकक्षलाई ‘मिनी पुस्तकालय’ बनाएका वडाध्यक्ष

३० साउन २०८२, बिहिवार
Image

झापा, २९ साउन । मेचीनगर वडा नं. २ का अध्यक्ष दिपक बराल जनसेवामा रमाउने जनप्रतिनिधिको रुपमा परिचित हुनुहुन्छ । कार्यालयमा समस्या बोकेर आउने हरेक वडाबासीलाई चिया खुवाएर स्वागत गर्नुहुन्छ । उहाँ आफुलाई शासक वा नेताको रुपमा होइन, जनसेवक भनाउन रुचाउनु हुन्छ । 

यति मात्र होइन, कार्यालय धाउन नसक्ने समाजका ज्येष्ठ आमा बुवाहरुलाई खोजखबर गर्दै उहाँ दिनहुँ गाउँका वस्ती, टोल र घरआँगनसम्मै कहिले बाइक, कहिले साइकल र कहिले पैदलै पुग्नुहुन्छ ।

मेचीनगरका कान्छा वडाध्यक्ष (३८ वर्षीय) बरालको परिचय यतिमै सीमित छैन । उहाँको पुस्तकप्रेम ओझेलमै छ । यसबारेमा चर्चा भएको पाइँदैन ।

वडाको कार्यकक्षमा उहाँको टेबलमै ६० वटा चल्तीका पुस्तकको चाङ छ, मानौ उहाँको कार्यकक्ष सानो पुस्तकालय हो । 

‘घरमा रु. चार लाख मूल्यका पुस्तकको थाक छ,’ लोकतन्त्र पोस्टसँगको कुराकानीमा उहाँले बताउनुभयो–‘एउटा सार्वजनिक पुस्तकालय बनाउने सोचेको छु ।’ रोजा लक्जेम्वर्गको नाममा एउटा सार्वजनिक पुस्तकालय सञ्चालनको तयारीमा जुटिरहेको उहाँले जानकारी दिनुभयो ।

पुस्तकप्रेमी वडाध्यक्ष बराललाई पढ्न चाहिँ छुट्टै समय चाहिँदैन रे । पढ्नका लागि ठाउँ पनि उहाँलाई बेग्लै चाहिँदैन । कार्यालयमै फुर्सद मिल्यो भने उहाँ टेबुलका किताब पल्टाउन थालिहाल्नु हुन्छ ।

घरमा दिउँसो बस्न नभ्याउने भएकाले राति घरका सबैजना सुतिसक्दा उहाँ पुस्तकका पानामा नवीन ज्ञान खोजिरहनु हुन्छ । 

कस्ता कस्ता किताब पढ्नुहुन्छ ? –लोकतन्त्र पोस्टले उहाँलाई सोधेको थियो ।

‘यही टाइपका पुस्तक पढ्छु भन्ने चाहिँ हुँदैन,’ उहाँ एउटा पुस्तक देखाउँदै भन्नुहुन्छ–‘माक्र्सबादी, अध्यात्मिक, दार्शनिक, फिक्सन, ननफिक्सन, बायोग्राफी, मोटिभेसनल आदि प्रकारका पुस्तक पढ्छु ।’

उहाँले बोल्दै गर्दा हातमा उठाएको किताब चाहिँ निरोज कट्टेलको ‘झापा विद्रोहको अन्तरकथा’ थियो । जुन पुस्तक उहाँले एकै दिनमा पढिसिध्याएको बताउनुभयो ।

उहाँ ध्यान दिएर तर छिटो पुस्तक पढ्नुहुँदो रहेछ । बिजयकुमार पाण्डेको ‘सम्बन्ध’ दुई दिनमा, राम कार्कीको ‘बिकल्प’ तीन दिनमा, बसन्त बस्नेतको ‘सिमसारा’ दुई दिनमा र विवेक ओझाको ‘ऐंठन’ एकै दिनमा पढेर सिध्याएको उहाँको दावी छ ।

उहाँले भर्खरै पढेका पुस्तकहरु ‘मुकाम रणमैदान’, रोशन थापाका ‘सन्त्रासका ६० दिन’, राहुल सांस्कृत्यनको ‘लेनिन’ लगायतका पुस्तक पनि रहेछन् ।

नयाँ पुस्तक बजारमा आयो भनेको सुन्नासाथ उहाँलाई कतिखेर किनिहालौं भन्ने हुटहुटी जाग्छ रे । उहाँ पुस्तक मागेर होइन, किनेर पढ्नुहुन्छ । झापाका लेखकहरुले लेख्नु भएका पुस्तक पठन सूचीमा प्राथमिकतामै रहने गरेको उहाँ बताउनुहुन्छ ।

धेरैपटक पढेको पुस्तक चाहिँ राहुल सांस्कृत्यनको ‘लेनिन’, म्याक्सिम गोर्कीको ‘आमा’, श्रीमद्भागवत गीता लगायत हुन् ।

माक्र्सबादी दर्शन मन पराएर नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित बरालले आफ्नो कार्यकालमा वडाबासीलाई आफ्नो मतको सदुपयोग भएको सावित गर्ने बताउनु भएको छ । कुनै गुनासो गर्न नपर्ने अवस्था बनाउने उहाँको सोच छ । 

धार्मिक रुपमा उहाँ त्यति कठोर हुनुहुन्न । तर, ओशोको सन्यासी हुनुहुन्छ । ‘पाँच वर्ष चाहिँ मेरा भगवान भनेका नै मेरा वडाबासी हुनुहुन्छ,’ उहाँ भन्नुहुन्छ–‘यो समय मेरा भगवानको सेवामा कुनै कमी आउन दिनेछैन ।’