३० साउन २०८२, बिहिवार

कोशीमा एमाले : सदस्य संख्या एक लाख १४ हजार नाघ्यो

२९ साउन २०८२, बुधवार
Image

झापा, २८ साउन । नेकपा एमालेले कोशी प्रदेशमा एक लाख १४ हजारभन्दा बढी संगठित सदस्य रहेको जनाएको छ ।

वि.सं. २०८१ मा २० हजार ३९२ जनाले नयाँ सदस्यता लिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताउनुभयो ।

नयाँ सदस्यसहित कोशीमा एमालेको सदस्य संख्या एक लाख १४ हजार ८८० पुगेको उहाँले जानकारी दिनुभयो ।

नयाँ सदस्य सबैभन्दा बढी मोरङमा चार हजार ६८४ जना पुगेका छन् । ओखलढुंगामा तीन हजार ६३, ताप्लेजुङमा दुई हजार ६५०, इलाममा दुई हजार २५३ र सुनसरीमा दुई हजार ६७ जनाले नयाँ सदस्य लिएको तिवारीले बताउनुभयो ।

प्रदेशभरमा ९४ हजार ४८८ जनाले पुरानो सदस्यता नवीकरण गरेको पार्टीले जनाएको छ । 

सदस्यताको आधारमा सबैभन्दा बढी मोरङ जिल्लामा २३ हजार १७९ जना सदस्य पुगेका छन् भने झापा दोस्रो स्थानमा रहेको छ । झापामा १८ हजार ३३१ जना सदस्य भएका छन् । तेस्रो स्थानमा रहेको सुनसरीमा ११ हजार ९०० जना सदस्य रहेका छन् । 

यसैबीच, पार्टीले पार्टीको आधिकारिक समाचार दिने 'सूर्य समाचार' बुलेटिन प्रकाशित गर्न थालेको छ । हरेक साँझ उक्त बुलेटिन प्रकाशित गर्ने प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताउनुभयो ।

पार्टीका महासचिव शंकर पोखरेलले मंगलवार धनकुटाको हिलेमा 'सूर्य समाचार' को उद्घाटन गर्नु भएको हो ।