झापा, २९ साउन । सामाजिक सञ्जालमा फेक आइडी बनाएर मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको चरित्र हत्या गरिएको भन्दै साइबर व्यूरोमा उजुरी गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनु भएको हो ।
टिकटकमा मिसन २०८४ इलेक्सन लगायत फेक नाम र प्रोफायल बनाएर बुढाथोकीको नाम र फोटो दुरुपयोग गरी दुष्प्रचार गरिएको कारण आवश्यक कार्वाहीका लागि साइवर व्यूरोमा प्रक्रिया अघि बढाइसकिएको स्वकीय सचिव पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
फेक आइडीबाट मालपोत, भन्सार, बस खरिद जस्ता असान्दर्भिक र नगरपालिकाको कार्य क्षेत्रभित्र नपर्ने कपोलकल्पित विषयलाई प्रस्तुत गरिएको भिडियो पूर्णतः गलत रहेको समेत नगरप्रमुख बुढाथोकीका तर्फबाट विज्ञप्तिमा नगरबासीमा जानकारी गराइएको छ ।
फेक आइडी भएको व्यक्तिलाई सार्वजनिक रुपमा प्रस्तुत हुन विज्ञप्तिमा चुनौति समेत दिइएको छ ।
केही दिनयता टिकटक र फेसबुकमा त्यस्ता भिडियोहरु भाइरल भइरहेका छन् । मेचीनगर मात्र नभएर विर्तामोड लगायतका अन्य पालिकाका जनप्रतिनिधिहरुलाई समेत लाञ्छना लगाएर भिडियो निर्माण गरेको पाइएको छ ।