टेक्सास (अमेरिका), २९ साउन । अमेरिकामा सर्वाेच्च शिखर सगरमाथाको तस्विर भएको एटीएम कार्ड प्रचलनमा आएको छ ।
अमेरिकामा रहेको एकमात्र नेपाली वित्तीय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसीयु)ले ९ अगस्टदेखि यो एटीएम कार्ड प्रयोगमा ल्याएको हो ।
मास्टर कार्डसँग आवद्ध यो एटीएम कार्ड संसारभरि प्रयोग गर्न सकिनेछ । इएफसीयुको सदस्यता लिएका सबैले यो कार्ड प्राप्त गर्न सक्ने इएफसीयुका प्रमुख कार्यकारी अधिकृत सुमन तिम्सिनाले बताउनुभयो ।
अमेरिकामा कुनै पनि वित्तीय संस्था सञ्चालन गर्न नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसन (एनसीयुए) मा दर्ता हुनु पर्दछ । सन् २०१५ मा दर्ता प्रक्रियामा प्रवेश गरेको इएफसीयुले तीन वर्षसम्म वित्तीय क्षेत्रमा काम गरेको हुनु पर्ने प्रावधान अनुरुप सन् २०१८ मा (एनसीयुए) मा दर्ता पाएको हो ।
त्यो वर्ष अमेरिकाभरिमा यहि एउटा मात्र नेपाली वित्तीय संस्था उक्त सरकारी निकायमा दर्ता भएको हो । यसमा सुरुमा २५ डलरले खाता खोल्न र दुई सय ५० डलरमा सदस्य बन्न सकिन्छ ।
यस वित्तीय संस्थाले नेपाली विद्यार्थीलाई लक्षित गरी ३ हजार डलरसम्म ऋण प्रवाह गर्ने गरेको छ । यसलाई छिटो ऋण भनिएको छ । यो ऋणबाट क्रेडिट अर्थात वित्तीय साख बनाउन सजिलो हुने बताइन्छ । यसबाट अमेरिकामा पढ्न पुगेका नेपाली विद्यार्थी बढि लाभान्वित भएका छन् । यसका लागि पढ्न थालेको कम्तिमा एकवर्ष पूरा भएको र पहिलो वर्षको नतिजामा ३ जीपीए ल्याएको हुनुपर्ने प्रावधान छ ।
त्यस्तै १५ हजार डलरसम्मको अर्काे उपभोक्ता ऋण पनि प्रदान गर्ने गरिएको छ । यस संस्थाले गएको जुन महिनादेखि घर खरिद र ब्यवसायका लागि एक लाख डलरसम्म ऋण दिने गरेको छ । तिम्सिनाका अनुसार हालैमात्र यस्ता ऋणको लागि तीनवटा निवेदन परिसकेका छन् । मोटर खरिद गर्दा मोटरको कूल लागतमध्ये ९० प्रतिशतसम्म ऋण दिने गरिएको छ । हालसम्म ६ सय ५० नेपालीले यस संस्थाबाट ऋण कारोबार गरिसकेका छन् । अमेरिकामा बैधानिक बसाईको प्रमाण भएकाहरुले मात्र खाता खोल्न सक्ने प्रावधान रहेको यस वित्तीय संस्थाका अमेरिकाभरि दुई हजार एक सय सदस्य छन् ।
अमेरिकामा नेपाली समुदायको वित्तीय उन्नति, साख (क्रेडिट) अभिवृद्धि र समुदाय भित्र बलियो एकता एवम् मिलापको विस्तारको लागि इएफसीयु केन्द्रित रहेको प्रमुख कार्यकारी अधिकृत तिम्सिनाको भनाई छ ।
एभरेस्टको न्युयोर्कमा मुख्यालय छ र टेक्सास र ओहायोमा शाखा स्थापना भएका छन् । अर्काे शाखा भर्जिनिया राज्यमा खुल्ने तरखरमा छ । प्रमुख कार्यकारी अधिकृत तिम्सिनाले निकट भविष्यमा अमेरिकाका नेपालीको उल्लेख्य बसोबास भएका राज्यहरु मेरिल्यान्ड, पेन्सिलभेनिया र क्यालिफोर्नियामा शाखा विस्तार गर्ने योजना पनि सुनाउनुभयो ।
अमेरिकाका ५० वटै राज्यमा कारोवार गर्ने स्वीकृति पाएको (इएफसीयु)ले हालसम्म १७ राज्यमा कारोवार गरिसकेको छ । तिम्सिनाले यसै बर्षदेखि वार्षिक कारोबार एक करोड डलर हाराहारी पुग्ने पनि बताउनुभयो ।
हालसम्म नेपाल बाहिर नेपालीले यो बाहेक अन्य वित्तीय संस्था सञ्चालन गरेको पाइएको छैन । यस संस्थालाई पूर्ण डिजिटलाइज्ड बनाउँदै लगिने इएफसीयुका अध्यक्ष डा. मदन उप्रेतीले बताउनुभयो । उहाँका अनुसार यसमा कारोबार गर्न गैह्र नेपालीभाषीले पनि सक्नेछन् तर सदस्य अर्थात अंशियार चाँहि नेपालीभाषीले मात्र हुन पाउँछन् । अध्यक्ष उप्रेतीले हाल एक करोड डलर पुँजी रहेको यस संस्थाको कुल पुँजी आउँदो पाँच बर्ष भित्र दश करोड डलर बनाउने लक्ष्य रहेको पनि बताउनुभयो ।