झापा, ३० साउन । शिक्षासेवी एवम् कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिसिन्पल गुरुभक्त न्यौपानेको आज ६६ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान ७ः४० बजेतिर उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ मस्तिष्क सम्बन्धी रोगको उपचार गराइरहनु भएको थियो ।
उहाँ शिक्षा क्षेत्रका जिल्लाकै प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो । दुर्गा माध्यमिक विद्यालय गरामनीका प्रधानाध्यापक र विराट ज्योति अंग्रेजी माविका संस्थापक अध्यक्षसमेत रहेर उहाँले सेवा गर्नु भएको थियो ।
उहाँका छोरा केशव न्यौपाने बीएन्डसी मेडिकल कलेजमा मुटुरोग सम्बन्धी विशेषज्ञ हुनुहुन्छ । उहाँकी छोरी पनि चिकित्सक नै हुनुहुन्छ ।
उहाँको निधनले झापाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको विर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताउनुभयो ।
नगर शिक्षा समितिका निवर्तमान सदस्य समेत रहनु न्यौपानेको निधनमा आज विर्तामोड नगरभरिका सम्पूर्ण सामुदायिक, संस्थागत, धार्मिक तथा पूर्व प्राथमिक विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरिएको छ ।