२ भदौ २०८२, सोमवार

विचार

सम्मानका लागि किताब किनौं

२ भदौ २०८२, सोमवार
Image

नेपालका असली हिरा भनेकै वैज्ञानिक डा. महावीर पुन हुन् । साधारण गाउँमा जन्मेर असाधारण योगदान दिनु भएको उहाँले गाउँ–गाउँमा इन्टरनेट पुर्याउनुभयो । ग्रामीण स्वास्थ्य सेवामा नवप्रवर्तन गर्नुभयो । युवालाई विज्ञान तथा आविष्कारतर्फ आकर्षित गर्नुभयो । उहाँकै पहलमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रमार्फत आज हजारौं युवाले आफ्ना विचारलाई प्रयोगशालासम्म पुर्याउने अवसर पाएका छन् ।

डा. महावीर पुन म्याग्दी जिल्लामा जन्मनु भएका एक प्रख्यात वैज्ञानिक तथा समाजसेवी हुनुहुन्छ । उहाँले युवालाई अनुसन्धान र आविष्कारमा अघि बढ्न प्रेरित गर्नुभएको छ । उहाँको अन्तर्राष्ट्रिय स्तरमै उच्च मूल्यांकन गरिएको छ । यही योगदानका कारण उहाँले रामोन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको हो ।

डा. पुन केवल सपना देख्ने मात्र होइन, सपना पूरा गर्न जोशिने व्यक्तित्व हुनुहुन्छ । उहाँको संघर्ष र त्यागकै कारण आज नेपाल ‘नवप्रवर्तन सम्भावना भएको देश’ भनेर चिनिन थालेको छ ।

हाल उहाँ देश दौडाहामा रहनु भएको छ र आफ्नो आत्मकथा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ वितरण तथा बिक्री गर्दै हुनुहुन्छ ।

यस पुस्तकबाट संकलित रकमलाई उहाँले व्यक्तिगत प्रयोजनमा नभई नवप्रवर्तन र अनुसन्धानका लागि कोषमा जम्मा गर्ने उच्च लक्ष्य राख्नुभएको छ ।

उहाँले किताब बेच्नुको उद्देश्य यसप्रकार छन्–

१. नयाँ आविष्कार र अनुसन्धान गर्ने युवालाई सहयोग

२. विज्ञान प्रयोगशाला विस्तार

३. स्वास्थ्य तथा प्रविधिमूलक परियोजनामा लगानी

४. गाउँ–गाउँमा व्यावहारिक प्रविधि पुर्याउने कार्य

यसकारण, यो पुस्तक खरिद गर्नु भनेको केवल एउटा पुस्तक पढ्नु मात्र होइन, नेपालको उज्ज्वल भविष्यमा प्रत्यक्ष लगानी गर्नु हो ।

यस गौरवमय क्षणमा, डा. महावीर पुनज्यू अहिले मेचीनगरमा हुनुहुन्छ । यो हाम्रो लागि ठूलो अवसर हो । उहाँलाई सम्मान गर्ने उत्तम तरिका भनेकै उहाँको अभियानलाई समर्थन गर्नु हो ।

त्यसैले, हामी सबै मेचीनगरवासीले कम्तीमा १/१ प्रति पुस्तक तथा मेचीनगरका संस्थाहरूमध्ये प्रत्येकले कम्तीमा ५/५ प्रति पुस्तक अनिवार्य रूपमा किन्नै पर्छ ।

यसरी खरिद गरिएको पुस्तक हाम्रो घर–परिवार र संस्थाका लागि प्रेरणा बन्नेछ, अनि त्यसबाट संकलित रकमले देशका युवाले गरेको आविष्कारलाई जीवन्त बनाउनेछ । आउनुहोस्, हामी सबै मिलेर डा. महावीर पुनज्यूलाई मेचीनगरमा हार्दिक स्वागत गरौं । 

पुस्तक ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ खरिद गरेर उहाँको मिसनमा हातेमालो गरौं । नेपाललाई नवप्रवर्तन, आत्मनिर्भरता र प्रगतितर्फ अघि बढाउन सघाऔं ।


लेखकको बारेमा
Image
कविन्द्र श्रेष्ठ

(लेखक प्याब्सन मेचीनगरका अध्यक्ष हुनुहुन्छ ।)