झापा, २ भदौ । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैचीले उत्पादनको सुरुवाती सिजनमै उच्च भाउ पाएको छ ।
अलैचीको खरिद विक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रति मन (४० केजी) रु. ९४ हजारमा कारोवार भएको नेपाल अलैची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताउनुभयो ।
“यो निकै राम्रो भाउ हो,” उहाँले भन्नुभयो–“गत वर्ष अहिलेकै सिजनमा अलैचीको कारोवार प्रति मन रु. ४० हजारसम्ममा भएको थियो ।” अलैचीको यो भाउ बिगत सात वर्षकै उच्च मानिएको छ ।
वि.सं. २०७५ सालको अहिलेको सिजनमा अलैचीको प्रति मन मूल्य रु. एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मंसिरमा मूल्य अझ बढेर प्रति मन रु. एक लाख सात हजार पुगेको थियो ।
वि.सं. २०६७ मा प्रति मन अलैची रु. एक लाख २० हजारसम्ममा कारोवार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैचीको कारोवार कहिल्यै भएको छैन ।
भदौ असोजतिर भाउ धेरै हुनु भनेको मंसिर पुसतिर अझै बढ्न सक्ने संकेत भएको उहाँको भनाई छ । अहिले बढेको भाउले अलैची उत्पादन गर्दै आएका किसानहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
किसानले बेच्ने बेलामा अलैचीको भाउ उच्च हुँदा किसानहरु उत्साही भएका हुन् । किसानबाट यतिबेला किनेको अलैची भण्डारण गरेर व्यापारीहरुले मंसिर पुसतिर भाउ अकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।
“एक मन अलैची उत्पादन गर्न किसानले अधिकतम् रु. २० हजारसम्म लगानी गरेका हुन्छन्,” महासंघका कार्यकारी निर्देशक ढुंगाना भन्नुहुन्छ–“आफुले बेच्ने बेलामा भाउ धेरै पाएर किसानहरु धेरै खुशी भएका छन् । यसपाली अलैचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।”
नेपालका ४२ जिल्लामा अलैची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।
कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकडभिट्टा नाका भएर रु. सात अर्ब ६७ करोडको अलैची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादित अलैचीको ९० प्रतिशत मात्रा निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।