१८ भदौ २०८२, बुधवार

पुल नबन्दा बिरानो बन्यो मेची पारिको नेपाल

१८ भदौ २०८२, बुधवार
Image

झापा, १८ भदौ  मेचीनगर नगरपालिकाको वडा नं. १५ का तीन गाउँ ग्वालबस्ती, झाडुवस्ती र शिशौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिएको छ ।

यहाँका लगभग डेढ सय बासिन्दा दैनन्दिन उपभोग्य बस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा ३ देखि माथ्लो तहको शिक्षाका लागि बालबालिका समेत भारतै धाउनु पर्ने यहाँको बाध्यता छ ।

आदिबासी समुदायका राजबंशी, सन्थाल, यादव लगायतको बसोबास रहेका यी तीन गाउँका नेपालीको जीविकाको मुख्य स्रोत खेतीपाती र पशुपालन हो । गाउँमा पढेलेखेका खासै मानिस छैनन् । नदीले भूगोल अलग्याएर मेची पारि पुर्याएपछि यहाँ राज्यको उपस्थितिको नाममा कक्षा २ सम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र छ । जहाँ नेपाली राष्ट्रिय झण्डा फहराइन्छ । विद्यालय लागेका बेला राष्ट्रिय गान गुञ्जिन्छ ।

नेपाल सरकारले भर्खरै पुर्याएको सुविधा भनेको विद्युतको प्रशारण लाइन हो । त्यो पनि ट्रान्फर्मरको अभावमा बेलुका टुकीले जस्तै धिपधिपे मात्र उज्यालो दिन्छ । अधिकांश बासिन्दाको जग्गाको धनीपूर्जा छैन । भारतीय निर्भरता बढे तापनि यहाँका बासिन्दालाई नेपालकै बिछट्टै माया छ । 

“कतिपयको नागरिकता बनेको छैन, मेडिकल छैन, जग्गाको धनीपूर्जा पाएको छैन,” ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमुल यादव भन्नुहुन्छ– “दशगजाको नेपाली पिलर रुङेर बसेका छौं । नेपालले चाहिँ हामीलाई माया गरेन ।”

मेची पारिका नेपालीले वर्षौदेखि वारिको नेपाली भूभागसँग जोडिनका लागि मेची नदीमा पुलको माग गर्दै आएका छन् । थोरै बासिन्दा भएकाले पक्की पुलको साटो झोलुंगे पुल बनाउन उनीहरुले भन्दै आएका छन् । झोलुंगे पुल बनेपछि दिनैपिच्छे उपभोग्य सामान किन्न भारतीय बजार धाउन नपर्ने उनीहरुको आशा छ । 

अध्यक्ष यादवका अनुसार मेची वारिको कालिका आधारभूत प्राविमा कक्षा ५ सम्म र अरनिको माध्यमिक विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ । पुल बनेमा यहाँका विद्यार्थीले त्यहाँ गएर पढ्न पाउँथे । पुलको अभावमा यहाँको कक्षा २ सम्म पढाई हुँदै आएको मेची आधारभूत विद्यालयमा समेत पूरा अवधि पठनपाठन हुने यहाँका बासिन्दाको आशा छ । बर्खामा मेची नदीमा पानीको सतह बढ्ने भएकाले आउजाउ गर्न नसकेर वारिका शिक्षकहरु विद्यालय धाउन सकिरहेका छैनन् । हाल विद्यालयको पठनपाठन ठप्प छ ।

अहिलेसम्म भएका सबै चुनावका उम्मेद्वारहरुले स्थानीयबासीलाई झोलुंगे पुल बनाइदिने आश्वासन दिदै भोट माग्ने गरेको टोल विकास संस्थाका अध्यक्ष यादव बताउँछन् । उहाँ जनप्रतिनिधिप्रति गुनासो गर्दै भन्नुहुन्छ– “भोट माग्ने बेलामा पुल बनाइदिन्छौ भन्दै आउँछन् । चुनाव जितेर गए पछि नाकमुख देखाउँदैनन् ।”


पुल नभएका कारण नेपाली सुरक्षाकर्मी नै हत्तपत्त नपुग्ने ती गाउँमा हालै राफ्टिङ बोट (हावा भरिएको डुंगा)को यात्रा गरेर झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी पुग्नुभयो । मेची पारिको गाउँमा प्रजिअ अधिकारी सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुखहरुसहित जानु भएको थियो ।

“सीडीओ साहेवहरु नौका चढेर आउनु भएको थियो,” मेची पारिको ती गाउँको समेत प्रतिनिधित्व गर्दै आउनु हुने मेचीनगर–१५ का वडा सदस्य वृक्षलाल राजबंशीले भन्नुभयो– “गाउँ घुम्नुभयो । सीमानाको अवस्था के छ भनेर सोध्नुभयो । खेतीपाती डुलेर हेर्नुभयो । समस्याहरु के छन् भनेर सोधेपछि हामीले बिजुलीको ट्रान्सफर्मर र मेची नदीमा झोलुंगे पुलको माग राख्यौं ।”

दुई घण्टा जति प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्ला प्रमुखहरु पुग्दा गाउँलेलाई नेपाल सरकार आएजस्तो बल्ल अनुभूति भएको वडा सदस्य राजबंशी बताउनुहुन्छ । प्रजिअ अधिकारीले गाउँलेकै सामू नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय प्रमुखलाई फोन गरेर मेची पारि तत्कालै बिजुलीको ट्रान्सफर्मर राखिदिन आग्रह गर्नुभएको थियो । झोलुंगे पुल बनाउनका लागि जनप्रतिनिधिमार्फत सरकारसँग माग गर्न प्रजिअ अधिकारीले सुझाव दिनु भएको राजबंशीले बताउनुभयो ।

प्रजिअ अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले स्थानीय युवालाई नेपालको सुरक्षा निकायमा भर्ती हुन आग्रह गर्नु भएको राजबंशीले बताउनुभयो । “तपाईहरुले सीमा रक्षकको भूमिका निर्वाह गरिरहनु भएको छ भन्दै सीडीओ साहेवहरुले प्रशंसा गर्नुभयो,” उहाँले भन्नुभयो– “गाउँलेहरुले त्यहाँबाट आजसम्म कोही पनि सेना र पुलिसमा मात्र होइन, नेपाल सरकारको कुनै पनि जागिरमा पुग्न नसकेको बताउनु भएको थियो ।”

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले मेची पारिको गाउँमा दुःखैदुःख भएको बताउनुभयो । “हो हामी त्यहाँको बस्तुस्थिति बुझ्न गएका थियौं,” उहाँले भन्नुभयो– “सडक, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुनै सुविधा पुग्न सकेको छैन । उहाँहरुले मेची नदीमा झोलुंगे पुल बनाइदिन माग गर्नुभयो । त्यहाँका बासिन्दाको मुख्य माग नै पुल रहेछ ।”

झोलुंगे पुल यहाँका लागि अति आवश्यक भए तापनि सरकारले यसमा बिलम्ब गरिरहेको स्थानीयको गुनासो छ । संघीय सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा पुलको डीपीआरका लागि रु. पाँच लाख बिनियोजन गरेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले जानकारी दिनुभयो । यो बजेटले झोलुंगे पुल कहाँ राख्ने भनेर परियोजनाको डीपीआर तयार गरिने बताइएको छ ।

“मेची पारिका जनताले बडो कष्टपूर्वक वर्षौदेखि जीवन गुजारिरहेका छन्,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो– “एउटा झोलुंगे पुल बनाउनका लागि बजेट देउ भनेर प्रदेश र संघीय सरकार पटकपटक गुहारिरहेका छौं । बल्ल यसपाली सम्भाव्यता अध्ययन भनेर अलिकति बजेट पठाएको रहेछ । पुल बनाउन नगरपालिकाको आफ्नै स्रोतसाधनले भ्याउँदैन ।”

झोलुंगे पुलले मेची पारिको गाउँलाई नेपालको सिंगो भूभागसँग जोडिने भएकाले यसको निर्माणमा राज्यले विशेष पहल गर्नुपर्ने यहाँस्थित मेची आधारभूत विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया बताउनुहुन्छ । “शिक्षा, स्वास्थ्य, रोजगारी र बजारका लागि सँधै भारतसँग निर्भर हुनु परेको यहाँका बासिन्दालाई आफू बसिरहेको भूगोल नेपालको हो भन्ने अनुभूति राज्यले गराउन सकेकै छैन,” प्रअ थपलिया भन्नुहुन्छ– “दोष हाम्रो राज्यको नै हो, जसले पुस्तौदेखि बसोबास गरिरहेका आफ्ना नागरिकलाई राज्यसँग नाता हुनुको कुनै अनुभूति गराउन सकेको छैन ।”

यी गाउँमा कहिलेकाहिँ भारतीय सुरक्षाकर्मीहरु समेत सीमा नाघेर गाउँमा गस्ती गर्दै आउने गरेका छन् । नेपाली सुरक्षाकर्मीहरु बिरलै पुग्ने भएको र भौगोलिक अवस्था पनि दुर्गम भएकाले भारतीय सुरक्षाकर्मीहरु हाकाहाकी पस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

“हाम्रै विद्यालयको भित्तामा भारतीय चुनाव प्रचारको पोस्टरहरु टाँसिएको भेटेका छौं,” विद्यालयका प्रअ थपलिया भन्नुहुन्छ– “भारतमा चुनाव हुँदा उताका दल र उम्मेद्वारहरुलाई यी गाउँ भारतकै जस्तो लाग्दोरहेछ । गाउँभरि पोस्टरहरु टाँसेर जाँदा रहेछन् । मैले चाहिँ विद्यालयबाट पोस्टर च्यातेर हटाउने गरेको छु ।”

मेची पारिको गाउँबाट रुपेश राजबंशी लगायत तीन जना विद्यार्थी मेची नदी तर्ने जोखिम मोलेरै ज्यामिरगढी माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन् । रुपेशले यसपटक एसइइ दिने भएका छन् । नदी तरेरै कालिका आधारभूत विद्यालयमा चार जना विद्यार्थी पढ्न आउने गरेका छन् ।

हिउँदमा मेची तरेर यहाँका बासिन्दा नेपालतिरका बजार र गाउँतिर काम विशेषले ओहोरदोहोर गर्दै आएका भए तापनि बर्खा यामको तीन महिना नदीमा पानीको सतह बढ्ने भएकाले मेची वारिसँगको सम्पर्क टुट्ने गरेको छ । 

भदौदेखि विद्यालयको पठनपाठन सुरु हुनु पर्नेमा नदीमा पानीको सतह नघटेका कारण मेची आधारभूत विद्यालयको अहिलेसम्म पठनपाठन सुरु हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक थपलियाले खोला तरेर जान सक्ने अवस्था नभएका कारण पठनपाठन हुन नसकेको बताउनुभयो । 

मेची पारिको नेपाली भूभागको सुरक्षा र बासिन्दामा राष्ट्रिय भावना उच्च बनाउन समेत यहाँको मेची नदीमा झोलुंगे पुल बनाउन आवश्यक देखिन्छ । “नदी पारि भएकाले त्यहाँका बासिन्दालाई नेपालतिर आउन असजिलो हुन्छ,” मेचीनगर–१५ भिण्डीबस्तीका बिनय टुडु भन्नुहुन्छ– “जाने बाटो नै छैन । हिउँदमा डेढ किलोमिटर बगरै बगर हिँड्नु पर्छ । बर्खामा खोला तर्नै सकिदैन । एउटा झोलुंगे पुल बन्यो भने बल्ल नेपालको गाउँ नै हो जस्तो हुन्थ्यो ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।