२१ भदौ २०८२, शनिवार

साना इन्टरलक व्यवसायी मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण

२१ भदौ २०८२, शनिवार
Image

झापा, २१ भदौ। क्रंक्रिटका ब्लक उत्पादन गर्दै आएका साना व्यवसायीहरुले नेपाल गुणस्तर चिह्न (एनएस मार्क) अनिवार्य लागू गर्नुअघि बैकल्पिक व्यवस्थासहित व्यावहारिक समयसीमा पाउनु पर्ने माग गरेका छन् ।

झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायी संघले उक्त माग राखेको हो ।

सरकारले सबै व्यवसायीका लागि नेपाल गुणस्तर चिह्न अनिवार्य गरेपछि उनीहरुले साना व्यवसायीहरुको सुरक्षा र हितका लागि व्यावहारिक समयसीमाको माग गरेका हुन् । 

झापामा करिब ५० वटा साना इन्टरलक ब्लक कंक्रिट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरूले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै हजारौं श्रमिकलाई रोजगारी प्रदान गर्दै आएको संघका अध्यक्ष टिकाराम अधिकारीले बताउनुभयो ।

संघले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सघन शहरी तथा भवन निर्माण कार्यालयमा आफ्नो माग पत्रसहित ज्ञापन पत्र बुझाएका छन् । 

व्यवसायीले जिल्लाका १५ वटै पालिकामा ज्ञापन पत्र बुझाएर स्थानीय सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।

झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायी संघका उपाध्यक्ष झमकबहादुर गौतमका अनुसार साना उद्योगीहरुले ज्ञापनपत्र मार्फत नेपाल गुणस्तर चिन्ह सम्बन्धी प्रावधानलाई व्यावहारिक समयसीमा र वैकल्पिक व्यवस्थासहित लागू गर्न, ठूला कम्पनीहरूको अनुचित दबाब नियन्त्रण गर्न र स्थानीय उद्योगीलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेका हुन् ।