झापा, २१ भदौ । कोशी प्रदेशमा कूल बन क्षेत्रको ७१ प्रतिशत हिस्सा समुदायद्वारा संरक्षित सामुदायिक बनको अधिनमा रहेको पाइएको छ । जसबाट पाँच लाख ८२ हजार ६४९ घरधुरी लाभान्वित भइरहेका छन् ।
प्रदेशमा कूल छ लाख ५७ हजार ४२१ हेक्टर क्षेत्रफलमा बन रहेकोमा चार लाख ६७ हजार ७९ हेक्टर क्षेत्रफल सामुदायिक बनले ओगटेको कोशी प्रादेशिक बन निर्देशनालय धरानका सहायक बन अधिकृत सुशान्त पोखरेलले जानकारी दिनुभयो ।
नेपालको बन क्षेत्रलाई सञ्चालनका आधारमा सामुदायिक बन, कबुलियत बन, निजी बन, धार्मिक बन, साझेदारी बन र सरकारद्वारा व्यवस्थित बन गरी छ प्रकारमा वर्गीकरण गरिएको छ । कोशी प्रदेशमा निजी र धार्मिक बनको क्षेत्रफल थोरै छ भने क्षेत्रफलका आधारमा सामुदायिक बनपछि सरकारद्वारा व्यस्थित बन धेरै रहेको छ ।
सहायक बन अधिकृत पोखरेलका अनुसार प्रदेशका १३७ पालिकामा तीन हजार ७२१ वटा सामुदायिक बन छन् । जसमा पाँच लाख ८२ हजार ६४९ घरधुरी आवद्ध रहेका छन् । सरकारद्वारा व्यवस्थित बन पाँच वटा रहेको र त्यसले एक लाख ७६ हजार २१० हेक्टर क्षेत्रफल ओगटेको उहाँले बताउनुभयो ।
सरकारद्वारा व्यवस्थित बनले प्रदेशको कूल बन क्षेत्रको २५ प्रतिशत हिस्सा ओगटेको पाइएको छ भने सामुदायिक बनले ७१ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रदेशमा चार हजार २३७ हेक्टर क्षेत्रफल ओगटेको ९८२ वटा कबुलियत बन, दुई हजार ८९ हेक्टर क्षेत्रफल ओगटेको दुई हजार ८७ वटा निजी बन, चार सय ९५ हेक्टर क्षेत्रफल ओगटेको ५४ वटा धार्मिक बन र सात हजार ३१२ हेक्टर क्षेत्रफल ओगटेको चार वटा साझेदारी बन रहेको छ ।
कबुलियत बनमा आठ हजार ८३८ घरधुरी आवद्ध छन् भने निजी बनमा दुई हजार ८७ घरधुरी, धार्मिक बनमा ५४ वटा धार्मिक संस्था र साझेदारी बनमा एक लाख ६३ हजार ७८० घरधुरी आवद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
प्रदेशमा रहेका सामुदायिक बनहरुमध्ये ४९ वटाले पर्यापर्यटन गतिविधि सञ्चालन गर्दै पर्यटक आकर्षित गरिरहेका छन् । जसबाट सामुदायिक बनको आन्तरिक आयश्रोत बढेको छ भने स्थानीय क्षेत्रमा रोजगारी अभिवृद्धि भएको छ ।
पर्यापर्यटन गतिविधि सञ्चालन गर्ने सामुदायिक बनहरुले स्थानीय सिमसार क्षेत्रको सदुपयोग गरेका छन् । सिमसारलाई व्यवस्थित गरी नौका विहार गराउने, नजिकमा मनोरञ्जनात्मक सामग्रीहरु राखिदिने र मिनी चिडियाखाना सञ्चालन गर्ने कार्य सामुदायिक बनहरुले गर्दै आएका छन् ।