मेचीनगर, २२ भदौ । मेचीनगर नगरपालिकाले वडा नं. २, ३ र ७ लाई तरकारी पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
वडा नं. २ र ३ साविक बाहुनडाँगी गाविसमा पर्छन् भने वडा नं. ७ चाहिँ साविक मेचीनगर र ज्यामिरगढीको भूगोल मिसिएको क्षेत्रमा पर्छ । यी वडामा पहिल्यैदेखि किसानहरुले ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
स्रोतका अनुसार नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ मा तरकारी पकेट क्षेत्र घोषणा गरेर त्यहाँ उत्पादित तरकारीको समर्थन मूल्य तोक्नेछ ।
तोकिएको मूल्यमा बिक्री भएन भने तरकारीको तोकिए अनुसारको समर्थन मूल्य नगरपालिकाले दिने व्यवस्था मिलाउनेछ ।
नगरप्रमुख गोपाल बुढाथोकीले आफु निर्वाचित भएर नगरपालिकामा आएदेखि नै कृषि क्षेत्रको विकासका लागि केही गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको थियो । तर, कसरी गर्ने भन्ने अन्योल कायमै थियो ।
बिगतमा तरकारीको बीउ बाँड्ने र खेतीका आधारमा अनुदान दिने कार्य नगरपालिकाले गर्दै आएको थियो । नगरको अनुगमन प्रणाली प्रभावकारी नहुँदा अनुदानमा गडबढी हुने गरेको खास साना किसानहरुको गुनासो थियो ।
अब नगरपालिकाले अनुदान कागजी खेतीपातीको आधारमा नदिने नीति लिएको छ । कृषकहरुको अध्ययन गरी उत्पादनको आधारमा दिनु पर्ने किसानहरुको माग छ ।
मेचीनगर नगरपालिकाले तरकारीको पकेट क्षेत्रमा उत्पादन हुने तरकारी अग्र्यानिक हुनुपर्ने शर्त राख्नेछ । कुनै प्रकारको हानिकारक विषादीको प्रयोग नगरिकन उत्पादन भएको तरकारीको विक्रीका लागि आफ्नै लगानी वा सहकारीहरुको सहकार्यमा विक्री कक्ष सञ्चालनमा ल्याउन सकिन्छ कि सकिदैन भनेर नगरपालिकाले सुझाव संकलन गरिरहेको छ ।
तरकारी संकलन गर्ने र विक्री कक्षमार्फत उपभोक्तासमक्ष पुर्याउने नगरपालिकाको योजना भएको बुझिएको छ ।