झापा, २६ भदौ । भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायो साग विक्रीका लागि तयार भएको छ । उहाँले यस वर्ष दुई स्थानमा गरी एक विगाहा जमिनमा बेमौसमी रायोको साग खेती गरेको बताउनुभयो ।
“दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, “बजारमा प्रतिकेजी रु. एक सयदेखि १२० सम्ममा विक्री हुँदै आएको छ । यसपाली मनग्य आम्दानी होला जस्तो छ ।”
उहाँले अहिलेको सिजनमा मात्र रु. ३० लाखको रायो साग विक्री हुने लक्ष्य लिएको बताउनुभयो । “लगानी र खर्च कटाएर रु. १० लाख सुपथ नाफा हुन्छ भन्ने आशा छ”– उहाँले भन्नुभयो । गत बर्ष १५ कठ्ठामा लगाएको साग खेतीबाट रु. १८ लाख आम्दानी भएको उहाँले बताउनु भयो ।
वैदेशिक रोजगारीको सिलसिलामा ११ बर्ष मलेसिया बसेर फर्कनु भएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले वि.सं. २०७३ मा लिङ्देन कृषि फार्म सुरु गर्नु भएको थियो । त्यसयता उहाँले वर्षेनी रायो साग बेचेरै उल्लेख्य आर्जन गर्दै आउनु भएको छ ।
उहाँले उत्पादन गरेको रायो साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र विर्तामोड नगरपालिकास्थित कृषिथोक बजारमा विक्री हुँदै आएको छ । हात्तीका कान जत्रा पात भएका रायो साग बजारमा निकै रुचाइने गरेको उहाँको भनाई छ ।
उहाँले कृषि फार्म मार्फत १० वटा पोखरीमा माछापालन समेत गरिरहेको बताउनुभयो । सोही माछा पोखरीको डिलमा समेत रायो साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा साग सब्जी र फूलखेतीमा काम गरेको अनुभवले अहिले सजिलो भएको उहाँले बताउनुभयो ।
भद्रपुर–१ मा भइरहेको रायो सागको व्यावसायिक खेतीमा स्थानीय १८ जनाले रोजगारी पाइरहेका छन् । फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा स्थानीय व्यक्तिले रोजगारी पाएका छन् । उहाँले सागको बेर्ना लगाएको ४५ दिनदेखि टिप्न सुरु गर्ने र ६५ दिन भित्रमा टिपी सक्नुपर्ने बताउनुभयो ।
“सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कठ्ठाबाट सुरु गरे,” उहाँले भन्नुभयो, “उत्पादन र विक्री दुवै राम्रो भएपछि खेती बढाएर एक विगाहा पुर्याएको हुँ ।” उहाँले मौसमी भन्दा बेमौसमी खेतीबाटै फाइदा हुने बताउनुभयो ।
उहाँले उत्पादन गरेको साग अर्डर अनुसार गाडीमा राखेर आफैं पुर्याइदिने र धेरै भएको खण्डमा कृषिथोकमा लगेर विक्री गर्दै आएको बताउनुभयो । उहाँले कार्तिक मंसिरमा अरुले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा सधै साउन भदौ महिनामै बमौसमी साग उत्पादन गर्दै आएको बताउनुभयो ।