४ असोज २०८२, शनिवार

जेनजी शहीद

रक्तदान कार्यक्रममा हिँडेका गोपाल जेनजी आन्दोलनमा अस्ताए

४ असोज २०८२, शनिवार
Image

झापा, ३ असोज । भदौ २४ गते अर्जुनधारा नगरपालिका वडा नं. ११ का २८ वर्षीय गोपाल सेढाई विहानको घरायसी नियमित काम सकेर विर्तामोड जाने तरखरमा थिए । छयत्त वर्षीया आमा गुनमायाले सोध्नुभयो– “कता हिँड्न लागेको कान्छा ?”

गोपालले विर्तामोड जानु पर्ने काम रहेको बताउँदै भन्नुभएको थियो– “त्यही विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ, गए है ल ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँडेका गोपालको आमासँग यही नै संवाद अन्तिम हुन पुग्यो । उहाँ सोही दिन विर्तामोडमा प्रहरीको गोली छातीमा लागेर शहीद हुनुभयो ।

भदौ २४ गते गोपाल घरबाट आमासँग विदा मागेर विर्तामोड गएपछि सबैभन्दा पहिला बीएन्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले दर्जनौं युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि उहाँ विर्तामोडको जेनजी आन्दोलनमा जानुभएको थियो । जहाँ उहाँले परिवर्तनका लागि जीवन नै बलिदान गर्नुभयो ।

गोपालको परिवारमा वुवाआमा, दाजु भाउजु र तीन जना दिदीवहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुवईमा बस्दै आएका छन् भने दिदीबहिनीहरु विवाहपछि आफ्नो घर गएका छन् । उहाँको काँधमा वृद्धावस्थाका वुवा धनपति र आमा गुनमायाको हेरचाह गर्ने र घर सम्हाल्ने जिम्मेवारी थियो । 

उहाँकी दिदी तुलसा सेढाइका अनुसार रक्तदान गर्न जानु अघि विहान गोपाल सँधै झैं योग सिकाउन शिविरमा जानु भएको थियो । त्यहाँबाट फर्केपछि उहाँले गोठमा गएर गाई दुहुने काम सिध्याउनुभयो । त्यसपछि उपचारका लागि विरामी बुवालाई लिएर शनिश्चरे अस्पताल जानुभयो । आमासँगै दही चिउरा खाएर उहाँ विर्तामोड जानु भएको थियो ।

“आमावुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो,” आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाउनु भयो– “अब हाम्रो कान्छो भाइ कहिल्यै घर नफर्किने बाटो गयो ।” 

गोली लागेको खबर सुनेर विर्तामोडको बीएन्डसी हस्पिटलमा भेट्न जाँदा भाइको मृत्यु भइसकेको उहाँले बताउनुभयो । अपराह्न ४ बजेतिर उहाँलाई प्रहरीको गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएन्डसी हस्पिटलमा पुर्याइएको थियो । गोलीले छाती छेडेका कारण उहाँको तत्कालै निधन भएको चिकित्सकहरुले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव सानैदेखि थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गर्नु भएको उहाँ गाउँमा कुशल योग प्रशिक्षक, स्वयम्सेवी रक्तदाता र सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्थ्यो । 

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाई नियमित रक्तदाता र सामाजिक अभियन्ताको रुपमा रेडक्रससँग सँधै नजिक रहेको बताउनुभयो ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने बित्तिकै कि त आफै रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरु खोजेर ल्याउनुहुन्थ्यो,” ढकालले भन्नुभयो– “एउटा शिक्षित र होनहार सचेत युवा हुनुहुन्थ्यो उहाँ ।”

उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँकी दिदी तुलसा सेढाईले विहेका लागि घरमा कुराकानी भइरहेको बताउनुभयो । जेनजी आन्दोलनको क्रममा भदौ २३ गते काठमाडौंमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीहरुको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंमा आन्दोलनकारी जेनजी युवाको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो ।”

गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी पनि हुनुहुन्थ्यो । उहाँले डेढ विगाहा जग्गामा विभिन्न विरुवाको नर्सरी लगाउनु भएको थियो । खेतीपाती र पशुपालनमा उहाँको रुचि थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उहाँ आफै गर्नु हुन्थ्यो । बारीमा सुपारी र मरिचको बगान लगाउनु भएको थियो । उहाँको निधनले गाउँ नै शोकमा डुबेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।