६ माघ २०८२, सोमवार

मेची भन्सार

छ महिनामा रु. सात अर्ब १९ करोडको अलैची निर्यात

६ माघ २०८२, सोमवार
Image

झापा, ५ माघ । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैची, छुर्पी लगायतका वस्तुहरुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । 

साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु. सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले बताउनुभयो । गत आवको साउनदेखि पुससम्ममा रु. चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैची पूर्वीनाकाबाट निर्यात भएको थियो ।

कुकुर र विरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालू आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको छ महिनामा रु. ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । जबकि, गत आवको सोही अवधिमा रु. ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।

भेनियर सिट र मुसुरो दालको निर्यात समेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ ।

चालू आव २०८२/८३ को छ महिनामा रु. ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र रु. नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ । गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ ।

चालू आवको छ महिनामा रु. दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र रु. एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ ।

जबकि गत आवको सोही अवधिमा रु. दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र रु. एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो ।  

यसैगरी, चालू आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा रु. ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, रु. ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु. ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र रु. पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडिबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाईले जानकारी दिनुभयो ।