५ फागुन २०८२, मङ्गलवार

हात्तीको कहरबाट जोगाउनेलाई बाहुनडाँगीबासीको मत

५ फागुन २०८२, मङ्गलवार
Image

झापा, ५ फागुन। मेचीनगर–१ तिरिङकी सविता पुरीलाई चुनावको मुखमा खेतमा पाकेको तोरीबाली भित्राउने चटारोले भ्याइनभ्याइ छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरी बाली रोज्नु भएको हो । हात्तीले नखाने भएकैले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेको छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगरको वडा नं. १, २, ३ र ४ सम्म फैलिएको सिंगो बाहुनडाँगीको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ– ‘जंगली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर आजित भएका यहाँका बासिन्दाका लागि तोरी खेती हात्तीबाट जोगाउन सकिने बैकल्पिक कृषि कर्म बनेको छ ।

अन्यत्र झैं झापा निर्वाचन क्षेत्र नं. १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरू आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन् । मेचीनगरको १, २, ३ र ४ नं. वडा संघीयता आउनु अघि साविक बाहुनडाँगी गाविसको अंग थिए । यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गर्छन् । 

“अहिलेसम्म एकजना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला,” तोरीको थुप्रो पन्छाउँदै स्थानीय सविता पुरी भन्नुहुन्छ– “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वास दिलाउँछ, यसपालिको भोट उसैलाई दिनेछौं ।”

पटक–पटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो, तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयबासीको गुनासो छ । भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ । तर, स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्ने क्रम रोकिएको छैन ।

कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरी देशमा धेरै परिवर्तन भए तापनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताउनुहुन्छ । उहाँले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेद्वारलाई हात्ती समस्याको ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोधिने बताउनुभयो ।

झापा–१ मा राजनीतिक दलका १३ र स्वतन्त्र २ गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कूल १ लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन् । मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदान स्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।

झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन । बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन । निर्वाचनको मुखमा नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा मतदाताहरू ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा रहेको बताउँछन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।