११ फागुन २०८२, सोमवार

झापा–१

घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेद्वार ‘हिरण्य बा’

११ फागुन २०८२, सोमवार
Image

झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं. १ का गाउँ बस्तीमा मत मागिरहनु भएको हिरण्यप्रसाद भट्टराई अर्थात् ‘हिरण्य बा’ कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेद्वारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ ।

मेचीनगर–१ गाडागल्ली निवासी ‘हिरण्य बा’ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदूर पार्टीको उम्मेद्वार हुनुहुन्छ । उमेरले पाको भए पनि उहाँ मतदाताको घरआँगन डुलेर मत माग्दा पटक्कै थाकेको देखिनुहुन्न ।  

“मेचीनगर नगरपालिका क्षेत्रको २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घरदैलो गरिसकेको छु,” चुनावी चटारो बताउँदै उहाँ भन्नुहुन्छ– “म उम्मेद्वार भएको क्षेत्रमा दुई वटा नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन् । सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहिँ गाडी चढेर भोट माग्छु ।”

सेताम्य भइसकेका दाह्री र जुँघा र ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उहाँ आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ । धार्मिक र आयूर्वेद विज्ञानमा गहिरो अभिरुचि राख्दै आउनु भएको उहाँका जडिबुटी सम्बन्धी १४ वटा पुस्तक प्रकाशित छन् ।

“नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ,” उहाँले चुनावमा उम्मेद्वार बन्नुको कारण सुनाउँदै भन्नुभयो– “तपाई जस्तो सामाजिक मान्छे चुनावमा उम्मेद्वार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो । मैले नकार्न सकिन र उम्मेद्वार बनेँ ।”

झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेद्वार घरदैलोमा व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७  तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन् । 

पाको शरीरका कारण धेरै हिँडडुल गर्दा स्वास्थ्यमा समस्या हुने गरे तापनि उहाँ उत्साहपूर्वक चुनावी प्रचारमा जुटिरहनु भएको छ । नयाँ जेनजी मतदातादेखि वृद्धवृद्धाहरुले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको उहाँ बताउनुहुन्छ ।

“बुढेशकालमा बा पनि उठ्नु भएछ, एउटा मत दिउँला भन्छन् जेनजी नानीबाबुहरु,” घरदैलोमा जाँदा मतदातासँगको सम्वाद  सम्झिँदै उहाँ भन्नुहुन्छ– “ज्येष्ठ नागरिकहरु त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ । सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला ।”

चुनावमा जित हार जे भए तापनि आफुले सांसद् बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उहाँको धारणा छ । अधिकांश पाको उमेरको व्यक्तिहरु घरमै थन्किएर बस्नुभएको जनाउँदै उहाँले उम्मेद्वार बनेर ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारको मुद्धा उठाएको बताउनुभयो ।

झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ । उहाँभन्दा पाको उमेरको उम्मेद्वार अर्को छैन ।

उहाँ आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेद्वारमध्ये सबैभन्दा पाको भएको दावी गर्नुहुन्छ । निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेद्वारको सूची हेर्दा उहाँ प्रदेशकै सबैभन्दा पाको उम्मेद्वार देखिनुहुन्छ ।

कोशी प्रदेशको दोस्रो पाको उम्मेद्वारमा ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शेरबहादुर खत्री हुुनुहुन्छ । खत्री ८० वर्षीय हुनुहुन्छ । झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेद्वार बन्नु भएको मानवबहादुर पुलामी मगर पनि ७५ वर्षीय हुनुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।