१६ फागुन २०८२, शनिवार

झापा–१

‘रैथाने उम्मेद्वार हुँ, जित्नेमा ढुक्क छु’

१६ फागुन २०८२, शनिवार
Image

मेचीनगर, १६ फागुन । नेपाली कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेले अत्याधिक मतका साथ चुनाव जित्ने दावी गर्नु भएको छ ।

झापा–१ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पाण्डेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी सम्भावित चुनावी नतिजा बारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उक्त दावी गर्नु भएको हो ।

“यसअघिको चुनावमा विश्वप्रकाश शर्माले १५ हजार मतको भारी अग्रताका साथ यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो,” उहाँले भन्नुभयो– “त्यति नै मत ल्याउँछु भन्दिन, तर अत्याधिक मतका साथ जित्ने कुरामा म ढुक्क छु ।”

उहाँले आफूलाई रैथाने र विकासप्रेमी उम्मेद्वार भएको कारण चुनावमा मतदाताको मन जित्न सहज हुने जिकीर गर्नुभयो । “बिगत ३७ वर्षदेखि जुन भूगोलमा सामाजिक सेवा गर्दै आएको छु,” उहाँको भनाई थियो– “त्यही क्षेत्रमा सच्चिएको कांग्रेसको नयाँ छवि र ऊर्जा बोकेर उम्मेद्वार बनेको छु । मैले मतदाताको आशीर्वाद र विश्वास जितिसकेको छु ।”

चुनाव जितेर क्षेत्रका जनताको इमान्दार भएर सेवा गर्ने आफ्नो अठोट रहेको उहाँले बताउनुभयो ।