२० फागुन २०८२, बुधवार

‘झापा–१ मा एमालेले कुनै उम्मेद्वारसँग गोप्य तालमेल गरेको छैन’

२० फागुन २०८२, बुधवार
Image

मेचीनगर, २० फागुन । नेकपा एमालेले झापामा कुनै अर्को दलसँग चुनावी तालमेल नगरेको स्पष्ट पारेको छ । झापा क्षेत्र नं. १ मा समेत अर्को दलको उम्मेद्वारसँग कुनै तालमेल नरहेको पार्टीले जनाएको छ ।

नेकपा एमाले झापा–१ का क्षेत्रीय संयोजक कृष्ण कनालले आज अपराह्न सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै झापा निर्वाचन क्षेत्र नं. १ मा अर्को दलको उम्मेद्वारलाई सघाउने गोप्य तालमेल नभएको बताउनु भएको हो ।

उहाँले पार्टीका सदस्य एवम् शुभचिन्तकहरुमा भ्रम छर्ने र मत प्रभावित गर्ने नियत राखी मौन अवधिमा चुनावी आचारसंहिता र मर्यादा विपरीत चलाइएको त्यस्तो हल्लालाई पूर्णरुपमा खारेज गरिएको बताउनुभयो । 

संयोजक कनालको विज्ञप्तिको पूर्ण विवरण यस्तो छ–  

“हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. १ मा उम्मेद्वार रहनु भएको क. रामचन्द्र उप्रेतीविरुद्ध चुनावको मौन अवधिमा समेत मतदाता प्रभावित पार्ने नियत राखी गलत एवम् भ्रामक सूचना फैलाउने कार्य कतिपय व्यक्ति र प्रतिष्पर्धी राजनीतिक दलबाट भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।

नेकपा एमालेले झापा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार खडा गरेको र कुनै अर्को दल वा उम्मेद्वारसँग चुनावी गठबन्धन नगरेको घाम जत्तिकै छर्लङ्ग छ । झापा क्षेत्र नं. १ मा नेकपा एमालेसँग गोप्य गठबन्धन भएको भनी हाम्रो पार्टीका शुभचिन्तक तथा आम मतदातालाई भ्रममा पार्न विपक्षीद्वारा रचिएको यस्तो असत्य र भ्रामक हल्लालाई हामी पूर्णरुपमा खारेज गर्दछौं । विपक्षीहरुको पराजित मानसिकताबाट उब्जिएका यस्ता हर्कतको भर्त्सना समेत गर्दछौं ।  

मौन अवधिमा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हुने यस्ता अस्वस्थ चुनावी गतिविधि तत्काल बन्द गर्न, त्यस्तो गर्नेहरुमाथि कानूनी कार्वाही गर्न र निर्वाचनलाई स्वच्छ एवम् मर्यादित बनाउन हामी सम्बन्धित निकायहरुसँग जोडदार माग गर्दछौं । 

गठबन्धन भएको भन्ने भ्रम छर्दै मत यता र उता हाल्न भन्दै कसैले गलत प्रचार गरेको देख्नु र भेट्नु भएमा हाम्रो पार्टीका नेता एवम् स्थानीय प्रशासनलाई तुरुन्तै खबर गर्न पार्टीका सम्पूर्ण शुभचिन्तक एवम् संगठित सदस्य कमरेडहरुलाई हार्दिक आग्रह गर्दछौं । 

क. कृष्ण कनाल
क्षेत्रीय संयोजक
नेकपा एमाले, क्षे नं. १ झापा”