५ वैशाख २०८३, शनिवार

चन्द्रगढी महिला गोल्डकप : उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लव बिजयी

५ वैशाख २०८३, शनिवार
Image

झापा, ५ बैशाख । भद्रपुरमा आजदेखि सुरु भएको नेपालकै सर्वाधिक राशिको प्रथम ‘ओमसाई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

एकपक्षीय खेलमा आर्मीले पोखराको आरएस फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलको ११ औँ मिनेटदेखि नै आर्मीले गोलको सुरुवात गरेको थियो । आर्मीका लागि दिपा शाहीले पहिलो गोल गरिन् । बिमला चौधरीले गरेको प्रहारलाई पोखराकी गोलकिपर मनिषा तामाङले नियन्त्रणमा लिन असफल हुँदा उनको हातबाट फुत्किएको बललाई चौधरीले पोष्टको दिशा दिइन् ।

२६ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । बिमला चौधरीले एकल प्रयासमा डिबक्सबाहिरबाट गरेको चिप प्रहार गोलमा परिणत भएको थियो । २८ औँ मिनेटमा अर्को गोल थप्दै चौधरीले टिमका लागि जित सुनिश्चित गरिन् । सञ्जु कुमालले गरेको क्रस पासमा वान टचमा उनले गोल गर्न सफल भइन् ।

खेलको ३५ औँ मिनेटमा चन्द्रा भण्डारीले आर्मीका लागि चौथो गोल गरिन् । दिपा शाहीले प्रहार गरेको कर्नरलाई हेडमार्फत उनले गोल गरेकी थिइन् ।

पहिलो हाफ ४–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा २ गोल थप्यो । ५० औँ मिनेटमा बिमला चौधरीले गरेको प्रहार गोल किपरले नियन्त्रणमा लिन नसकेपछि आर्मीकी स्ट्राइकर जेनिफर राना मगरले टिमको लागि पाँचौँ गोल गरिन् ।

६२ औँ मिनेटमा चन्द्रा भण्डारीले डिबक्स बाहिरबाट दायाँ बार च्यापेर गरेको प्रहार गोलमा परिणत हुँदा खेलमा खासै लय बनाउन नसकेको पोखरा घर फर्किएको थियो । पोखराले आर्मीमाथि खेल अवधिभर विपक्षी पोष्टमा कुनै आक्रमण गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला चौधरी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि ९आइतबार० भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेलले शुभकामना व्यक्त गरेका थिए । क्लबका सदस्य तथा राष्ट्रिय फुटबल खेलाडी रेजिन सुब्बाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रोहित सुब्बाले गरेका थिए भने कार्यक्रमको सञ्चालन विवेक चम्लागाईंले गरेका थिए ।