पौरखी जेनजी
पौरखी जेनजी
भनिन्छ, मान्छेको सफलता उसको उमेरको लम्बाइमा होइन, उसले गरेका कर्मको गहिराईले नाप्नुपर्छ । रचना रिमाल यो भनाइकी एक साक्षात प्रतिरुप हुन् जसले कलिलै उमेरमा आफ्नो कर्मको गहिराइले एउटा अग्लो पहिचान बनाउन सकेकी छन् ।
नेपाली सुगम संगीतको चम्किलो आकाशमा उदाएकी रचनाको अहिलेसम्मको यात्रालाई नियाल्दा थाहा हुन्छ, प्रतिभाको कुनै उमेर हुँदैन । जब साधना र लगनको मधुर संगम हुन्छ, तब किशोरावस्थामै राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचानको भव्य महल खडा हुन्छ । २३ वर्षको उमेरमै रचनाले नेपाली संगीतकर्ममा जे जति योगदान पुर्याएकी छन् र त्यसको बलमा जुन उचाइ छोएकी छन्, त्यो कुनै रोचक सिनेमाको कथाभन्दा फरक छैन ।
पूर्वी नेपालको तेह्रथुम जिल्लास्थित साविक ओयाजुङ्ग गाविसको शेर्मा गाउँमा उहाँको जन्म भएको थियो । कमला र फणिन्द्र रिमालको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएकी उहाँलाई आज धेरैले ‘झापाली प्रतिभा’ भनेर चिन्छन् र चिनाउँछन् । यसको कारण स्पष्ट छ : जन्मले तेह्रथुमे भए पनि उहाँको कर्मभूमि झापा बन्यो ।
छोरीहरूको भविष्य उन्नत होस् भन्ने सुनौलो सपना बोकेर रिमाल दम्पतीले २०६३ सालमा तेह्रथुमको विकट पहाडी माटो छाडेर झापाको सदरमुकाम चन्द्रगढी (हाल भद्रपुर–९) मा पाइला टेके । सामान्य कृषि पेशाबाट गुजारा चलाउने यो परिवारका लागि त्यो बसाइँसराइँ केवल ठाउँको परिवर्तन थिएन, यो त एउटा ठूलो भविष्यको खोजी थियो । उहाँको जादुमयी स्वर नै अन्ततः परिवारको कायाकल्पको मुख्य आधार बन्यो ।
रचनाको गायन यात्राले जीवनमा ल्याएको परिवर्तन असाधारण छ । हिजो सामान्य कृषक परिवार भनेर बेवास्ता गर्नेहरू आज उहाँको सफलतामा गौरवान्वित हुँदै सम्मान प्रकट गर्छन् । छोरीको कलायात्राले रिमाल परिवारको जीवनस्तरलाई एकाएक फड्को मार्न सघायो, जसले गर्दा अहिले उहाँहरूको जीवनमा आमूल परिवर्तन आएको छ । रचनाको कथामा ‘गायन’ शब्दले बोली फुटेदेखि नै प्रवेश पाइसकेको थियो । उहाँ केवल गाउने मात्रै होइन, ‘धुन’ मा बाँच्नुहुन्थ्यो । उहाँले बोली फुटाएदेखि नै भगवानको भजन गाउन थाल्नुभयो, सायद यही नै प्रकृति वा ईश्वरले दिएको प्रसाद थियो ।
आमा कमला रिमालका अनुसार रचनाको यही भक्तिभाव नै आजको सफलताको पहिलो कारण बन्यो । बाल्यकालमा उहाँ भजन–किर्तनमा भाग लिन नपाउने अवस्था आउँदा घरमा आएर निकै ठूलो गुनासो र विलाप गर्नु हुन्थ्यो । उहाँलाई जसरी भए पनि मन्दिरहरूमा, आमा समूहका किर्तन कार्यक्रममा भक्तिभावका भजनहरू गाउनु नै पर्थ्यो । ‘कहिलेकाहीँ त लाग्थ्यो, छोरी घमण्डी वा हठी हुने हो कि ?,’ आमा सम्झिनुहुन्छ– ‘तर, पछि बुझियो, त्यही हठ र ढिपी नै रचना रिमाललाई ‘रचना’ बनाउने गायनको मुख्य खम्बा रहेछ ।’
यो धार्मिक लगाव र संगीतप्रतिको तीव्र झुकावले नै उहाँभित्रको मधुर कण्ठलाई सधैँ ऊर्जा दिइरह्यो । सुरुवाती शिक्षा बालज्योति अङ्ग्रेजी विद्यालयबाट लिएकी रचनाले कक्षा १२ सम्म भद्रपुरको प्रज्ञा एकेडेमीमा अध्ययन पूरा गर्नुभयो । गायनमा जति क्षमतावान् हुनुहुन्थ्यो, पढाइमा पनि उहाँको तेज उस्तै थियो । सानैदेखि पढ्न र गाउन रुची राख्ने रचना अहिले संगीत विषयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
उहाँकी दिदी कामनाका अनुसार गायनको अति व्यस्त जीवनशैलीका कारण नियमित कक्षा लिन नभ्याए पनि रचनाले अहिलेसम्म कुनै पनि परीक्षामा असफलता भोग्नुपरेको छैन । उहाँ नियमित कक्षा लिने विद्यार्थीहरूभन्दा राम्रो अंक ल्याएर उत्तीर्ण हुनुहुन्छ, जसले उहाँको पढाइमा रहेको अब्बलपनलाई प्रमाणित गर्छ ।
सन् २०१९ मा आयोजित नेपाल आइडलको तेस्रो संस्करण उहाँको जीवनको सबैभन्दा ठूलो निर्णायक घुम्ती बन्न पुग्यो । उहाँको गायनले एकाएक फड्को मार्यो । यो उहाँको जीवनको टर्निङ पोइन्ट साबित भयो । समयको खेल भनौं या भाग्योदय, यो सफलताले उहाँलाई रातारात गायनकी चम्किरहेकी तारा बनाइदियो । स्कुल पढ्दै, पसलमा चटपटे बनाउँदै गीत गाउँदै सामान्य जीवनशैलीबाट आएकी रचनाले एकाएक उच्च स्तरीय जीवनशैलीमा आफूलाई ढाल्नुपर्यो, किनकि सोखको रूपमा रहेको गायन अब उहाँको आकर्षणले भरिएको व्यवसाय बनिसकेको छ । त्यसैले त उहाँ देश होस् या विदेश, वर्षभरिजसो गीत गाउन दौडिरहनुहुन्छ । उहाँ विभिन्न व्यावसायिक ब्रान्डहरुको सद्भावना दूत बनेर तिनको प्रवर्धनमा सघाइरहनु हुन्छ ।
लोक लयभित्र आधुनिक गीत गाउन रुचाउने रचनाले सन् २०२५ को अन्त्यसम्म आइपुग्दा दुई हजारभन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर रेकर्ड गराइसक्नु भएको छ । यसमा लोक, आधुनिक, चलचित्रका गीत र भजनहरू सबै पर्छन् । किशोरावस्था पार गर्दानगर्दै उहाँले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा स्थापित गायिकाको हैसियत बनाउन सफल हुनुभयो । प्रविधिको विकासका कारण गायन व्यवसाय धरापमा पर्ने अवस्था आए पनि रचनाको माग देश–विदेशमा उत्तिकै छ । उहाँले अहिलेसम्म विदेशका २२ वटाभन्दा बढी देश पुगेर सुमधुर प्रस्तुति दिइसक्नु भएको छ र देश भित्रका ७७ वटै जिल्लामा पुगेर गाउने अवसर पाइसक्नु भएको छ ।
उहाँको सफलताको सम्मानमा भद्रपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा रचनाको जीवनीलाई पनि ठाउँ दिएको छ । यो सम्मानले उहाँको कलाको उचाइलाई स्पष्ट पार्छ ।
यति धेरै व्यस्त र चर्चित जीवनशैलीका बाबजुद पनि रचनाको व्यक्तिगत जीवनमा स्थिरताको प्रतीक बनेकी छिन् उहाँकी बाल्यकालदेखिकी छिमेकी र घनिष्ट मित्र आयुष्मा बराल । गायन क्षेत्रमा उनका धेरै साथीहरू भए पनि आयुष्मासँगको मित्रताको डोरी असाध्यै बलियो छ । जति नै व्यस्त भए पनि घर आएका बेला रचनाले आयुष्माको घरमा पाइला राख्नैपर्छ । सानै उमेरदेखिको यो मित्रता अहिलेसम्म कहिल्यै फाटो आएको छैन, जुन मित्रताको एउटा उच्च नमुना हो । निकै गम्भीर स्वभावकी देखिने रचना रिमाल आज नेपाली संगीतको लागि एक उच्च शीर भएकी स्रष्टा हुनुहुन्छ । तेह्रथुमको विकट पहाडी गाउँबाट आएर झापाको माटोमा मौलाउँदै नेपाली संगीतको शिखर चुम्न सफल भएकी एउटी असाधारण यात्राकी धनी रचनाको जीवनले नवपुस्ताका धेरै तन्नेरीहरुलाई सिकाउँछ– ‘यदि तपाईंको साधना पवित्र छ, तपाईंको ध्येयमा इमानदारी छ भने उमेर र भूगोलले तपाईंलाई रोक्न सक्दैन ।’
लगनशील भएर संगीतको साधना गरिरहेकी रचनाको यो मधुर यात्राले दिने सम्भवतः सबैभन्दा मिठो सन्देश नै यही हो ।
(झापाको ‘पौरखी जेनजी’ सम्मान प्राप्त गर्नु भएकी रचना रिमालको प्रेरणादायी सफलताको कथा लोकतन्त्र पोस्ट म्यागेजिनमा २०८२ माघ ९ गते प्रकाशित भएको थियो ।)
