मेचीनगर, १२ बैशाख । त्रिफला राष्ट्रिय पुस्तकालय ३१ वर्षमा प्रवेश गरेको छ ।
वि.संं २०५३ सालमा शिक्षासेवी प्रेमप्रकाश पोखरेल (फलाहारी)ले ३३३ थान पुस्तक भेला पारेर धुलाबारीको एउटा विद्यालयको प्रांगणमा उद्घाटन गराएको यो पुस्तकालय आज ५० हजारभन्दा बढी पुस्तक संग्रहित रहेको देशकै ठूलोमध्येको पुस्तकालयको रुपमा चिनिन सफल भएको छ ।
तीन तले भब्य आफ्नै भवनमा सञ्चालित यस पुस्तकालयले शिक्षासेवी जयनारायण ढुंगानाको प्रमुख आतिथ्यमा आज स्थापना दिवस मनाएको छ । यस अवसरमा त्रिफलाका तीन दशक नामक लघु चिनारी पुस्तक समेत प्रकाशित गरिएको छ ।
पुस्तकालयका संस्थापक अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगरका साहित्यकार नरेन्द्रप्रकाश सिटौलाको तेस्रो कृति 'सन्देश'को लोकार्पण गरिएको थियो ।
कृतिका बारेमा साहित्यकार गोपाल सापकोटाले चर्चा गर्नु भएको थियो भने सो अवसरमा प्रमुख अतिथि ढुंगाना, लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार हिरण्यप्रसाद भट्टराई, पुस्तकालयको सामुदायिक भवन निर्माण समितिका संयोजक निलकण्ठ तिवारी, मेचीनगर वडा नं. २ का अध्यक्ष दिपक बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गंगाप्रसाद भट्टराईले गर्नु भएको थियो ।