मेची उद्योग वाणिज्य संघ
मेची उद्योग वाणिज्य संघ
धुलाबारी, १२ बैशाख । व्यापारी जगतमा पहिलो शक्ति भएर पनि आकांक्षीहरुको सही व्यवस्थापन गर्न नसक्दा नेपाली कांग्रेसले मेची उद्योग वाणिज्य संघको चुनावमा नेतृत्व गर्ने अवसर पटकपटक गुमाउँदै आएको छ ।
बिगत दुई वटा निर्वाचनमा अध्यक्ष पदमा नेकपा एमाले समर्थक उम्मेद्वारले बाजी मार्नुका पछाडि कांग्रेसभित्रकै किचलो कारक मानिन्छ । अहिलेका अध्यक्ष खेमराज प्रसाई र त्यसअघिका अध्यक्ष ऋषिराज तिम्सिना एमालेको प्रस्तावमा उम्मेद्वार बन्नु भएको थियो ।
यही बैशाख २६ गते संघको आगामी कार्य समिति चयनका लागि निर्वाचन हुँदैछ । आकांक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । राजनीतिक दलहरु पनि संघमा आफ्नो पक्षको पकड बलियो बनाउन उम्मेद्वार छनौटमा हस्तक्षेपकारी देखिएका छन् ।
तर, नेपाली कांग्रेस फेरि पनि अध्यक्ष पदको सर्वसम्मत उम्मेद्वार बनाउन असफल होला कि भन्ने संशय बढेको छ । पार्टीले अध्यक्ष पदमा कसलाई प्रस्ताव गरेको हो भन्ने औपचारिक रुपमा जानकारी दिएको छैन । यद्यपि गाईगुई सूचनाहरु चुहिरहेकै छन् ।
जस अनुसार यसपाली अध्यक्ष पदमा कपिल क्षेत्री (किशोर)लाई कांग्रेसले अघि सार्ने बुझिएको छ । “कपिलजी नै हाम्रो पार्टीको आधिकारिक उम्मेद्वार हो,” कांग्रेसका एक नेताले ठोकुवाका साथ भन्नुभयो– “उहाँको बिकल्पका बारेमा कांग्रेसले अब सोच्दैन ।”
संघको विभिन्न पद सम्हाल्दै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूरा गरिरहनु भएको क्षेत्रीलाई अध्यक्ष पदको उम्मेद्वार बनाइनु स्वाभाविक भएको कांग्रेसका एकथरिको बुझाई छ ।
तर, युवा उम्मेद्वार भूमि पौडेललाई अध्यक्ष पदमा अघि सार्नु पर्ने कांग्रेसभित्रै अर्काथरिको मत छ । हालका वाणिज्य उपाध्यक्ष पौडेल गाह्रो साह्रो पर्दा काँध हाल्ने निर्भीक युवाको रुपमा व्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ ।
हालै पत्रकार सम्मेलन गरेर पौडेलले अध्यक्ष पदमा आफ्नो दावेदारी सार्वजनिक गरिसक्नु भएको छ । उहाँकै भाषामा ‘अध्यक्ष पदको उम्मेद्वारबाट ब्याक नहुने’ अभिब्यक्ति आइसकेको छ । उहाँले व्यवसायीहरुको संस्थामा नेतृत्व गर्छु भनेर अग्रसर हुनेलाई रोक्ने कार्य नगर्न कांग्रेसलाई आग्रह गरिसक्नु भएको छ ।
यसबाट के स्पष्ट भएको छ भने कांग्रेसबाटै यसपाली अध्यक्ष पदमा दुई उम्मेद्वार भिड्नेछन् । पौडेललाई वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बनाएर व्यवस्थापन गर्न कांग्रेसभित्र चर्चा नचलेको भने होइन । तर, वरिष्ठ उपाध्यक्ष पदमा अर्का सिनियर व्यवसायी ध्रुव कनालले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । कनाललाई ब्याक गराउन कांग्रेसको नेतृत्व चाहँदैन ।
पौडेललाई कहिँ न कहिँ व्यवस्थापन गरेर कांग्रेस एक भएर चुनावमा जाँदैछ भनेर सन्देश दिनका लागि अध्यक्ष पदका आकांक्षी क्षेत्रीले कांग्रेससमक्ष बारम्बार भनिरहनु भएको छ । कसरी र कहाँ व्यवस्थापन गर्ने भनेर कांग्रेसले उपाय नै भेटाएको छैन ।
चुनावको मिति नजिकिदै जाँदा पार्टीको साथ नपाएका अध्यक्षका दावेदार भूमि पौडेलका सामू अब दुईवटा मात्र बिकल्प बाँकी छन् । पहिलो बिकल्प ः ब्याक हुने र क्षेत्रीलाई सघाउने । दोस्रो विकल्प ः स्वतन्त्र बनेर मैदानमा उत्रिने । भूमिको व्यवस्थापन गर्ने उपाय नभेटिनु कांग्रेसका लागि टाउको दुखाई भएको छ ।