मेची उद्योग वाणिज्य संघ
मेची उद्योग वाणिज्य संघ
धुलाबारी, १७ बैशाख । मेची उद्योग वाणिज्य संघको चुनावमा उम्मेद्वारहरुको प्यानल बन्न थालेको छ ।
आज अध्यक्ष पदका आकांक्षी किशोर क्षेत्री (कपिल)ले पाँच पदाधिकारीको प्यानल बनेको सार्वजनिक गर्नु भएको छ । फेसबुकमा नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय रहेको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको भवनलाई ब्याकग्राउन्डमा राखेर उहाँले प्रफुल्ल मुद्रामा आफ्नो प्यानलको पाँच भाइको फोटो सार्वजनिक गर्दै भन्नु भएको छ– “राधे राधे, सन्दर्भ मेची उद्योग वाणिज्य संघको निर्वाचन....”
उहाँले सार्वजनिक गर्नु भएको पाँच भाइको फोटो क्यामेराले खिँचेको वास्तविक भने होइन । यो फोटो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा निर्मित हो । कांग्रेस समर्थित प्यानल हो भन्ने देखाउन यो फोटो सार्वजनिक गरिएको अनुमान छ ।
क्षेत्रीले सार्वजनिक गर्नु भएको आफ्नो प्यानलको फोटोमा भूमि पौडेल, ध्रुव कनाल, हरि कोइराला र सन्तोष खवास हातेमालो गरिरहेको देखिनु भएको छ । यो प्यानलमा अब पौडेल वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्नु हुने भएको छ भने हरि कोइराला उद्योग उपाध्यक्ष र सन्तोष खवास वाणिज्य उपाध्यक्षको उम्मेद्वार बन्नु हुने निश्चित भएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार घोषणा गरिसक्नु भएको ध्रुव कनाल एक कदम पछाडि हटेर महासचिवको उम्मेद्वार बन्नु हुने भएको छ ।
पदाधिकारीमा महिला उपाध्यक्षको पद रहन्छ । तर, क्षेत्रीको प्यानलले उक्त पदमा हुनसक्ने उम्मेद्वारका बारेमा केही जनाएको छैन ।
गत निर्वाचनमा महिला उपाध्यक्ष पदमा नेपाली कांग्रेसको प्यानलबाट निर्मला भण्डारी उम्मेद्वार बनेर बिजयी हुनु भएको थियो । अहिले पनि उहाँले महिला उपाध्यक्ष पदमा दोहोरिने आकांक्षा सार्वजनिक गरिसक्नु भएको छ । तर, कांग्रेस समर्थित क्षेत्रीले घोषणा गरेको पदाधिकारी प्यानलमा भण्डारीको नाम राखिएको छैन ।