१९ वैशाख २०८३, शनिवार

टेलिभिजन पत्रकारद्वय गणेशमान मुखिया र रमा दाहाल पुरस्कृत

१९ वैशाख २०८३, शनिवार
Image

मेचीनगर, १९ बैशाख । पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुर्याए वापत कान्तिपुर टेलिभिजनमा कार्यरत झापाका दुई पत्रकार आज एकैदिन दुई अलग संस्थाद्वारा पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत हुनेमा पत्रकारद्वय गणेशमान मुखिया र रमा दाहाल हुनुहुन्छ । आर्थिक क्षेत्रमा कलम चलाएवापत मुखियालाई मेची उद्योग वाणिज्य संघ र पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुर्याए वापत दाहाललाई जयेन्द्र प्रसाई साहित्य सेवा कोषले पुरस्कृत गरेको हो ।

धुलाबारीमा आयोजित कार्यक्रममा पत्रकार मुखियालाई रु. २१ हजार नगदसहित ‘आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ भने कनकाईमा आयोजित कार्यक्रममा रु. २५ हजार नगदसहित पत्रकार दाहाललाई आजै ‘धनमाया सक्रिय पत्रकारिता पुरस्कार’ले सम्मानित गरिएको हो ।

मेची उद्योग वाणिज्य संघको २१ औं साधारणसभामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पत्रकार मुखियालाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नु भएको थियो । संघले दुई वर्षमा एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

अग्रज पत्रकार मुखिया अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । कनकाईमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दप्रसाद भट्टराईले पत्रकार दाहाललाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । उहाँ दुई दशक अघिदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।