२४ वैशाख २०८३, बिहिवार

ग्रामीण पर्यटन

पर्यटकको रोजाई बन्दैछ हात्ती–गौडामा बनेको ‘प्रकृति पार्क’

२४ वैशाख २०८३, बिहिवार
Image

झापा, २४ बैशाख । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।

चार दशकदेखि जंगली हात्तीको पीडा खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवम् संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु. ४२ लाखको लगानीमा यो पार्कको स्थापना भएको थियो ।

मेची नदीको किनारमा रहेको एक बिगाहा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरुको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरुको हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको लगभग चार विगाहा खोला बगरमा हरियालीका लागि जंगल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो । 

भारतबाट सीमा छिचोलेर जंगली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौडामै रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानको रुपमा समेत परिचित छ । पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जंगल रहेको छ । सोही जंगलबाट हरेक साँझ ६० देखि १०० वटासम्मको बथानमा जंगली हात्ती मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् ।

पार्कमा रोपिएका फूल फूल्ने एक सय प्रजातिका विरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक विरुवा समेत प्रकृति पार्कमा हुर्काइएको छ । भारतबाट आहारको खोजीमा बगरै बगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमै अल्मलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ लगायतका हात्तीमैत्री विरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

सो स्थानमा अम्बक लगायतका फलफूलका विरुवा समेत हुर्काइएका छन् । चराचुरुंगीको बासस्थान र संरक्षणका लागि फलफूलका विरुवा पार्कमा लगाइएका हुन् । बाहुनडाँगी क्षेत्र बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेष लगायतका दुर्लभ चराको बासस्थान भएको मेची चरा तथा बन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेल बताउनु हुन्छ ।

प्रकृति पार्कमा पुगेपछि पर्यटकहरुले रमाइलो मात्र होइन, मानव हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् । भारतको आसामदेखि पश्चिम बंगालको सुकुना जंगल हुँदै कोशी नदी किनारको कोशी टप्पु बन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौडा पार्कमा आउने पर्यटकहरुले अवलोकन गर्न पाउनेछन् ।

हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मी याममा घुम्न आउने पर्यटकको संख्या धेरै हुने गरेको छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकन समेत पर्यटकहरुका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

“यहाँको पार्क घुम्न र हात्ती बारे बुझ्न नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतबाट समेत पर्यटकहरु आउन थालेका छन्,” उहाँ भन्नुहुन्छ– “बाहुनडाँगी भन्ने वित्तिकै हात्तीको समस्या भएको ठाउँ हो भन्ने भाष्य बनिसकेको छ । हामी यस क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर लागिरहेका छौं । अहिले प्रकृति पार्क नयाँ गन्तब्य र आकर्षणको रुपमा चिनिनु स्थानीयबासीका लागि खुशीको विषय हो ।”

पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा पिकनिक मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताउनुभयो । तर, गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचनाहरु बगाएर रु. १३ लाखभन्दा बढी क्षति पुर्याएको छ ।

“सुरु सुरुमा मेचीको बगरमा पार्क बनाउँदा के चल्छ होला जस्तो लाग्थ्यो,” उहाँ भन्नुहुन्छ– “अहिले त हामी नै पनि पाहुना र साथीहरुलाई यही पार्कमा घुमाउन ल्याउने गरेका छौं । केही दिनअघि भारतको कोलकातादेखि बंगालीभाषी पर्यटकहरुको समूह पार्कमा घुम्न आएको भेटियो ।”

पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावकहरु आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती मोटरसाइकल तथा भाडाको सवारी साधन चढेर आउने गरेका छन् ।

मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र विहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौति रहेको स्थानीयले बताएका छन् । भारतबाट साँझ पर्ने बित्तिकै जंगली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र विहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयको चेतावनी छ । 

मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकहरूलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनु पर्ने यहाँ घुम्ने आउने पर्यटकहरुको भनाई छ । “मेचीको बगरमा ६० देखि १०० वटाको संख्यामा हात्तीको बथान हेर्ने र फोटो खिच्ने इच्छा थियो,” विर्तामोडबाट साथीहरुसहित प्रकृति पार्कमा घुम्न आउनु भएको बैभव न्यौपानेले भन्नुभयो– “बजार र बस्तीबाट टाढा भएकाले पार्कमा हात्ती आउला भन्ने डरले बेलुकासम्म बस्ने आँटै आएन ।” 

पार्कमा पर्यटकको संख्या बढेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहकहरु थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनःनिर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

भारतसँगको खुला सिमाना र जंगली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।