२४ वैशाख २०८३, बिहिवार

मेचीका पाँच वटा छोटी भन्सार वर्षौदेखि बन्द

२४ वैशाख २०८३, बिहिवार
Image

झापा, २४ बैशाख । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजिकरणका लागि सरकारले सीमावर्ती नाकाहरुमा स्थापना गरेको अरु पाँच वटा छोटी भन्सार बन्द अवस्थामा छ । 

मेची भन्सार कार्यालय अन्तर्गत गौरीगञ्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगञ्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।

हाल गौरीगञ्ज–२ स्थित आठमौजा बाहेक अरु छोटी भन्सार कार्यालयहरु बन्द रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले बताउनुभयो ।

“आठमौजा छोटी भन्सार चाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोवार हुन सकेको छैन,” उहाँले भन्नुभयो– “अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।” 

आयात र निर्यात कारोवार हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन लगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन ।

पूर्वी प्रवेशद्वार काँकडभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुख्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरु रहेका छन् ।

मेचीनगर–४ मा रहेको बाहुनडाँगी छोटी भन्सार बिगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो ।

“के कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौं,” छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्की भन्नुहुन्छ– “वि.संं. १९९० सालदेखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमा बजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिदा हामीलाई दुःख लागेको छ ।”

राणाकाल र पञ्चायतकालमा समेत सीमा नाकाको रुपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उहाँले इलाम र झापाका मानिसहरु भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताउनुभयो ।

उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवन समेत रहेको छ । हाल भवनको रेखदेख र रंगरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ ।

आठ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकडभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ ।

नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापारि भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमानाकामा सुरक्षा दिदै आएको छ ।