झापा, २४ बैशाख । मेचीनगर नगरपालिकाले लागूऔषधको दूर्व्यसन रोकथामका लागि विद्यालयको कक्षा कोठामै पुगेर सचेतना फैलाउने अभियान शुरु गरेको छ ।
मेचीनगर–८ इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको अभियान नगरका १७ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थीमाझ पुर्याइने नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो ।
लागूऔषधको दूर्व्यसनबाट विद्यार्थीलाई जोगाउने उद्देश्य लिइएको अभियान जेठ १८ गतेसम्म सञ्चालन हुने र त्यसबाट हजारौं विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।
अभियानको क्रममा विज्ञ प्रशिक्षकहरुले कक्षा कोठामै गएर लागू औषधको दूर्व्यसनका नराम्रा असरहरुका साथै यसले व्यक्ति, परिवार र समाजमा पुर्याउने क्षतिको विषयमा सचेतनामूलक जानकारी गराइने अभियानको सहजिकरण गरिरहेको सामुदायिक विकास मञ्चका सहजकर्ता गोविन्द न्यौपानेले बताउनुभयो ।
उहाँले पानीटंकी र नक्सलबारी लगायतका सीमावर्ती बजारमा सहजै उपलब्ध हुने ब्राउन सुगर लगायत विभिन्न प्रकारका नशालु पदार्थ खुला सीमा हुँदै भित्रिने भएकाले कलिलो उमेरका विद्यार्थीहरु दूर्व्यसनमा फँस्ने गरेको जानकारी दिनुभयो । अभियानको क्रममा हरेक विद्यालयमा विद्यार्थीलाई ‘इको क्लव’मा संगठित गरिने भएको छ ।
प्रहरीको पछिल्लो तथ्यांकले मेचीनगर मुलुककै लागू औषधको समस्याबाट प्रभावित मुख्य नगर हो । खैरो हेरोइन (ब्राउन सुगर)को कारोवार यस क्षेत्रको टाउको दुखाईको विषय भएको छ । विद्यालय समयमै लागू औषधले लठ्ठिएको अवस्थामा विद्यार्थीहरु भेटिन थालेपछि स्थानीय समुदाय समेत यसमा गम्भीर भएको छ ।
मेचीनगर–६ स्थित पूर्वीनाका काँकडभिट्टाको मेची पुल, गैरीगाउँ र बाहुनडाँगी आसपासको सीमा क्षेत्रबाट दिनुहँ युवाहरु लागू औषधसहित पक्राउ पर्दै आएका छन् ।
अभियानको सञ्चालन नगरपालिकाको सामाजिक विकास शाखाले गरिरहेको छ भने सहजीकरण सामुदायिक विकास मञ्चले गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाईले लागूऔषधको समस्या र कारोबारीको जालो भयावह रुपमा फैलिएको जनाउँदै भविष्यका कर्णधार विद्यार्थीहरुलाई यसबाट जोगाउन अभियान प्रभावकारी बन्ने बताउनुभयो ।