११ असार २०८३, बिहिवार

दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी देबेन्द्र

११ असार २०८३, बिहिवार
Image

झापा, ११ असार । जंगलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देबेन्द्र खरेल विगत एक दशकदेखि दौडधुप गरिरहनु भएको छ । पेशा र शोखले फोटोग्राफर खरेल आज नेपालकै बन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास व्युँताउने नाम बन्नुभएको छ ।

नेपालमा डेढ सय वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष हुनुहुन्छ । उहाँले नै ‘बैजनी ढाँडे बुंगे’ चरा नेपालमा पहिलोपल्ट फेला पार्नु भएको अभिलेखिकरण भएको छ ।

वि.सं. २०७८ पुसको जाडोमा इलामको सूर्योदय नगरपालिका–१ स्थित थुम्के भन्ने ठाउँमा चरा खोज्न हिँडिरहेका बेला खरेलको नजर आकाशमा ठूला प्वाँख फिजाएर उडिरहेका एक जोडी अनौठा चरामा पर्यो । संयोगले ती चरा नजिकैको रुखमा बसेपछि उहाँले केही तस्विर र भिडियो खिच्नुभयो । त्यही चराको फोटोले उहाँलाई संसारभर चिनायो । ती चराहरु दुर्लभ प्रजातिको एक जोडी ‘हङरायो’ थिए । 

“फोटो खिचिसकेपछि यो खबर म कसलाई सुनाउँ, कुन मिडियालाई भनुँ, कि के गरुँ जस्तो भएको थियो,” अनौठो चरा भेट्दाको खुशी साट्दै उहाँ भन्नुहुन्छ– “मेरो भाग्य, ती चरा रुखमै बसे । उडेर टाढा गइदिएका थिए भने मैले फोटो खिच्न पाउने थिइन । मैले फटाफट फोटो खिचेँ । त्यो मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो ।”


प्रधानमन्त्री भीमसेन थापाको पालातिर ब्रिटिश खोजकर्ता ब्रायन हड्सनले नेपालमा विश्वमै पहिलोपल्ट ‘हङरायो’ चरा भेटिएको प्रमाण पेश गर्नु भएको थियो । डेढ सय वर्षपछि खरेलले यो चरा नेपालमा जीवितै रहेको प्रमाण दिनुभयो । त्यसअघि खोजकर्ताहरुले ‘हङरायो’ नेपालबाट लोप भइसकेको औपचारिक प्रतिवेदन नै दिइसकेका थिए ।

सुरुका दिनमा दृश्य, फूल र पुतलीको तस्बिर खिच्ने खरेलको ध्यान बिस्तारै चराचुरुंगीतर्फ सोझियो । भारतकी प्रख्यात वाइल्डलाइफ फोटोग्राफर राथिका रामास्वामी र जीवविज्ञानका लेखक कमल मादेनका कामहरूले उहाँको मनमा चरा खोज्ने भोक जगाइदियो । यही भोकले उहाँलाई नेपालको चरा इतिहासमै एउटा सुनौलो पाना थप्ने ठाउँसम्म पुर्यायो ।

नेपालको ८८७ औँ चराको रूपमा ‘हरित परेवा’लाई मानिन्छ । यो चरा वि.सं. २०७७ मङ्सिर ९ गते मेचीनगर नगरपालिका–७ मा खरेलले नै फेला पार्नुभएको थियो । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ । यो परेवा नेपालमा पाइन्छ भनेर खरेलले नै पत्ता लगाउनु भएको हो ।

वि.सं. २०८१ फागुन ७ गते उहाँले मेचीनगरकै काँकडभिट्टामा ‘बैजनी ढाँडे बुंगे’ चराको तस्विर र भिडियो खिच्नु भएको थियो । उक्त चरा नेपालमा पहिलोपल्ट फेला भेटिएपछि नेपालमा पाइने चराको सूचीमा एउटा चरा थपिएको थियो ।

मेचीनगरको बाहुनडाँगीमा ‘बगर बट्टाई” र इलामको रोङस्थित कुटीडाँडामा ‘रातो ढाँडे पुष्पकोकिल’ लगायतका दर्जनौं दुर्लभ मानिएका चराको खोज गरेर उहाँले नेपाललाई चराको स्वर्गको रुपमा चिनाउन योगदान दिनु भएको छ । उहाँले अति दुर्लभ मानिएको पेट कैले कोइली, कालो टाउके बगेडी र संसारकै सबैभन्दा तीव्र गतिमा उड्ने शाहीबाज नामक चरा समेत मेचीनगरमै फेला पारेर तस्विर सार्वजनिक गर्नु भएको छ ।

भौगोलिक रूपमा नेपाल सानो भए पनि चराको विविधतामा विश्वकै २६ औँ स्थानमा पर्छ । हाल नेपालमा ९०३ प्रजातिका चरा रेकर्ड भइसकेका छन् । त्यसमा पनि मेचीनगर क्षेत्र चराहरूको ‘हटस्पट’ रहेको उहाँ बताउनुहुन्छ । उहाँकै पहलमा मेचीनगरमा मात्रै ३६१ भन्दा बढी प्रजातिका चरा भेटिइसकेका छन् ।

मेचीनगरको वडा नं. ५ मा हालै उहाँले लामो पुच्छर भएको स्वर्गचरीको बच्चा हुर्काइरहेको जोडी नै फेला पार्नु भएको छ । नगरपालिका, बैंक लगायतका सरकारी तथा गैरसरकारी निकायले उहाँले खिचेका सुन्दर एवम् दुर्लभ चराहरुको तस्विरलाई आफ्नो कार्यालयको अतिथि गृह र स्मारिकाहरुमा सजाएर सम्मान दर्शाउने गरेका छन् । 

नेपालमा चरा संरक्षणको अवस्था निकै दयनीय रहेकोमा खरेल चिन्ता व्यक्त गर्नुहुन्छ । “हाम्रो देशमा चरा पनि जोगाउनुपर्छ र ? भन्ने चेतना छ,” उहाँ भन्नुहुन्छ– “कोशी टप्पुभन्दा पूर्व एउटा पनि वन्यजन्तु आरक्ष नहुनु र देशैभरि जम्मा दुईवटा घोडाघोडी र जगदीसपुर ताल मात्र ‘चरा संरक्षित क्षेत्र’ हुनुले चरा संरक्षणतर्फ राज्यको उदासिनता प्रष्ट हुन्छ ।”

मेची नदी पारि भारततर्फ भने आसामसम्म पुग्दा १२ भन्दा बढी बन्यजन्तु संरक्षित क्षेत्रहरु रहेको उहाँले बताउनुभयो । मेचीनगर, रोङ र सूर्योदय क्षेत्रलाई समेटेर ‘चरा संरक्षित क्षेत्र’ घोषणा हुनुपर्ने उहाँको धारणा छ । यस क्षेत्रमा चरा देखाएर पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाई रहेको छ ।

नेपालमा अहिलेसम्म चरा पर्यटनको सम्भावनालाई सरकारले अध्ययन नगरेको गुनासो गर्दै उहाँले नेपालको हावापानी, भूगोल र प्राकृतिक सौन्दर्यसँगै चरा हेर्न समेत विदेशबाट पर्यटक भित्राउन सकिने बताउनुभयो । उहाँ भन्नुहुन्छ– “तर, यसका लागि राज्यले चरा संरक्षित क्षेत्रहरु घोषणा गर्नुपर्छ र प्रचार प्रसारलाई व्यापक बनाउनु पर्छ ।” 

चरा रमाइलोका लागि मात्र होइन, मानव अस्तित्वका लागि अनिवार्य रहेको खरेल बताउनुहुन्छ । हाम्रो साहित्य, संस्कृति र संगीत चराकै चिरबिरबाट सुरु हुने जनाउँदै उहाँले चरा बिनाको धरती निरस र बस्न अयोग्य हुने बताउनुभयो । किंवदन्ती, उखान, गीत, लोकभाका र श्रुतिहरुमा चरा बाँचेको उहाँ बताउनुहुन्छ । उहाँ चराहरुलाई धरती हराभरा बनाउने ‘अदृश्य माली’ भन्न रुचाउनुहुन्छ ।

“चराले बोलेको, गाएको, नाचेको भावलाई लिएर गीत र साहित्य रचना भएका छन्,” उहाँ भन्नुहुन्छ– “विहानलाई बुझाउन कथा लेख्नु पर्यो भने चरा चिरबिर गरेको भन्ने गरिन्छ । चित्रकारले हिमाल मास्तिर चरा उड्दै देखाउँछ । चराले फलफूल खाएर बिस्टयाउँदा होस् या चुच्चोमा टिपेर फलफूल अर्को ठाउँमा पुर्याउँदा झुक्किएर झरेका बीजबाट बनजंगल फैलिएको हो ।”

चराको चोरी शिकारी रोक्न र यसको बासस्थानको संरक्षण मात्रै गर्न सक्दा ठूलो उपलब्धि हुने उहाँ बताउनुहुन्छ । ग्याटिस जस्ता साधन प्रयोग गरेर चरा मार्ने र चरालाई आतंकित तुल्याउने कार्यलाई निरुत्साहित गर्न विद्यालय तहमै चरा संरक्षणको ज्ञान दिनु पर्ने उहाँको धारणा छ । 

चरामार्फत विश्वभर नेपालको नाम चम्काउने खरेलको पर्दा पछाडिको ब्यथा भने निकै मार्मिक छ । राज्य र समाजको उदासिनताका कारण चरा खोज्दाखोज्दै उहाँले आफ्नो निजी सम्पत्ति धेरै खर्च गरिसक्नु भएको छ । चरा जोगाउने कुरा गर्दा मानिसहरू हाँस्ने गरेको तितो अनुभव उहाँसँग छ । उहाँसँग चराको तस्विर र भिडियो खिच्ने अत्याधुनिक क्यामरा र लेन्सको अभाव छ ।

यही क्षेत्रमा काम गर्ने क्रममा उहाँले सामाजिक पहिचान र सम्मान समेत पाउँदै आउनु भएको छ । चरा तथा वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षणमा पुर्याउनु भएको योगदानको कदर गर्दै सुसेली साहित्यिक परिवारले उहाँलाई गत वर्ष रु. १५ हजार नगदसहित डा. मुकेशकुमार जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट सम्मानित गरेको छ भने लाल भागिरथा बानियाँ प्रतिष्ठानले रु. ३१ हजार नगदसहित राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ । 

कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाले उहाँलाई पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रहेका चराहरुको खोजी गर्नका लागि सहयोग लिने गरेको छ । चराको खोजीका लागि उहाँ नेपालको विभिन्न जिल्ला र भारतको केही प्रान्तहरुमा पुग्नु भएको छ । विदेशबाट नेपालका चरा हेर्न आउने पर्यटक र अनुसन्धाताहरुलाई उहाँले गाइडको रुपमा झापा, इलाम लगायत देशका विभिन्न जिल्लामा घुमाउने गर्नु भएको छ ।

चरा संरक्षणका लागि तीनै तहका सरकारले बजेटको व्यवस्था नगरेकोमा उहाँको गुनासो छ । पर्यटकीय पूर्वाधारको नाममा बन क्षेत्रमा कंक्रिटका ठूला संरचना बनाउने र कर्कश आवाज निकाल्ने ‘साउन्ड सिस्टम’ प्रयोग गरिदा चराको बासस्थान र विचरणमा नकारात्मक असर परेको उहाँको भनाई छ ।

पछिल्ला दिनमा उहाँले नयाँ पुस्तालाई चरा चिनाउने र संरक्षणको चेतना जागृत गर्ने अभियान सञ्चालन गरिरहनु भएको छ । विद्यालयमा गएर चरा संरक्षणको विषयमा पढाउनेदेखि सिमसार र जंगलहरुमा पुगेर समुदायलाई चरा चिनाउने प्रशंसनीय कार्य उहाँको नेतृत्वमा भइरहेको छ ।

(राससमा प्रकाशित)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।