मेचीनगर, २० असार । क्यान्सरको उपचार गराइरहनु भएकी मेचीनगर–५ घोडाजिनस्थित विष्णुमाया राईलाई मेची महाकाली बुहारी संयुक्त आवाज नामक संस्थाले नगद तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।
संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला अध्यक्ष गंगादेवी भट्टराई, संस्थापक अध्यक्ष यमन शर्मा सुब्बा, झापा सहसंयोजक रोशनी खनाल, झापा सदस्य प्रमिला उप्रेतीसहितको टोलीले नगद १५ हजार १० रुपैयाँ र सात हजार रुपैयाँ बराबरको खाद्य सामान घरमै पुगेर शुक्रवार प्रदान गरेको हो ।
विष्णुमाया राई २७ वर्षकै उमेरमा क्यान्सर संक्रमित भएपछि उहाँको उपचार र परिवारको भरणपोषण्मा कठिनाई भएको छ । उहाँको दाहिने खुट्टा शल्यक्रिया गरेर फालिएको छ । उहाँकी सासुआमा पक्षाघातबाट ग्रस्त हुनुहुन्छ । उहाँको पति अनिस राई स्थानीय चिया बगानमा ज्यालादारी मजदूरी गर्नुहुन्थ्यो । विष्णुमाया बिरामी भएपछि अनिसले ज्यालादारी काम छाडेर पत्नीको हेरचाहमा समय दिइरहनु भएको छ ।
विष्णुमाया र अनिसको जीर्ण घर ऐलानी जग्गामा छ । पानी नओताउने भएकाले राई परिवारका लागि मेची अभियान अन्तर्गत दाताको सहयोगमा नयाँ आवास गृह निर्माण भइरहेको छ ।