मेचीनगर, २२ असार । गृहमन्त्री सुधन गुरुङले आज बाहुनडाँगी पुगेर प्रसाद गौडाबाट हात्तीको अवलोकन गर्नु भएको छ ।
आइतवार राति झापा आइपुग्नु भएको गृहमन्त्री गुरुङ आज अपराह्न हात्ती प्रभावित बासिन्दाको समस्या बुझ्न बाहनुडाँगी पुग्नु भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसपी बसुन्धरा खड्कासहित सुरक्षा निकायको दलबलसहित बाहुनडाँगी पुग्नु भएको उहाँ भारतबाट हात्ती भित्रिने स्थान प्रसाद गौडा जानु भएको थियो ।
गृहमन्त्री गुरुङ मेची नदीको तटस्थित ढुंगाको जालीमा बसेका बेला नै भारतबाट जंगली हात्तीहरु नेपालतिर आइरहेका थिए । मन्त्री गुरुङले प्रहरीको दूरबीनले हात्तीको बथान हेर्नु भएको थियो ।
प्रहरी, प्रशासनसहित स्थानीयबासीले बाहुनडाँगीमा जंगली हात्तीले पुर्याइरहेको जनधनको क्षति र त्रासका बारेमा उहाँलाई ब्रिफिङ गरेका थिए ।
यसअघि गृहमन्त्री गुरुङले काँकरभिट्टाको नाका निरीक्षण गर्नु भएको थियो । प्रहरीको तालिमप्राप्त कुकुर डोहोर्याउँदै लामो दूरी पैदलै मेची पुलसम्म पुग्नु भएको उहाँले चोरी, तस्करी र राजस्व चुहावट पूर्णरुपमा नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो ।
मन्त्री गुरुङले सीमा क्षेत्रका समस्या बारेमा स्थानीयबासीको गुनासा र सुझावहरु सुन्नु भएको थियो । नाकामा उहाँलाई भेट्न मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती समेत पुग्नु भएको थियो ।
आइतवार राति अर्जुनधाराको सालबारी हेरिटेज होटलमा बास बस्नु भएको उहाँ शान्तिनगरस्थित जेनजी आन्दोलनका एक घाइतेलाई भेटेर सिधै मेचीनगर आउनु भएको थियो ।
उहाँले महेन्द्र राजमार्गको जोरसिमलस्थित सशस्त्र प्रहरी बलको चेकपोस्ट निरीक्षणपछि तुरुन्तै हटाउन निर्देशन दिनु भएको थियो । मन्त्रीको निर्देशन लगत्तै उक्त चेकपोस्ट हटिसकेको छ ।

फाइल फोटो ।