१२ साउन २०८३, मङ्गलवार

मेचीनगरमा दुर्लभ 'विराले सर्प' उद्धार

१२ साउन २०८३, मङ्गलवार
Image

मेचीनगर, १२ साउन । झापाको मेचीनगर नगरपालिका–१३, चारआलीबाट दुर्लभ मानिने फर्स्टेनी विराले सर्प (Boiga forsteni) सुरक्षित रूपमा उद्धार गरिएको छ। अनुसन्धानकर्ता देवेन्द्र कुमार खरेलका अनुसार यो झापा जिल्लाबाट यस प्रजातिको पहिलो अभिलेख हो। साथै, कोशी प्रदेशमा सर्प उद्धारमार्फत अभिलेख गरिएको पहिलो घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि यसबारे थप वैज्ञानिक अभिलेख र अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो।

श्रावण ७ गते बुद्धशान्ति गाउँपालिकाका युवा सर्प उद्धारकर्ता कृपेश कार्कीले स्थानीय बासिन्दाको सूचनाका आधारमा चारआलीबाट उक्त सर्पको सुरक्षित उद्धार गरेका थिए। प्रजाति पहिचानमा अन्योल भएपछि उनले वन्यजन्तु अनुसन्धानकर्ता देवेन्द्र कुमार खरेललाई विभिन्न कोणबाट खिचिएका तस्बिर पठाएका थिए। ती तस्बिरहरूको अध्ययनपछि उक्त सर्प फर्स्टेनीको विराले सर्प Forsten's Cat Snake (Boiga forsteni) भएको पुष्टि गरिएको हो।

नेपालका सर्प विज्ञ गणेश शाह का अनुसार यो प्रजाति तराई क्षेत्रमा समेत निकै दुर्लभ रूपमा भेटिने सर्प हो। यसको मुख्य बासस्थान अग्ला र पुराना रूख भएकाले मानिसको नजरमा विरलै पर्छ। यस प्रजातिको शरीरको रङ तथा ढाँचा बासस्थान, उमेर र वातावरणअनुसार फरक–फरक हुन सक्छ। मेचीनगरमा उद्धार गरिएको नमूनामा सुन्तलामिश्रित खैरो रङ देखिएको छ।

पूर्वी नेपाल जैविक विविधताका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र बन्दै गएको छ। यसअघि पनि मेचीनगर क्षेत्रबाट हरियो विराले सर्प (Boiga cyanea) को अभिलेख भइसकेको छ। पछिल्लो फर्स्टेनी विराले सर्प को अभिलेखले पूर्वी नेपालको वन क्षेत्र दुर्लभ वृक्षवासी सर्पहरूको समेत महत्वपूर्ण बासस्थान रहेको संकेत गरेको छ।

हालसम्म नेपालमा क्याट स्नेक / विराले सर्प (Boiga) का पाँच प्रजाति अभिलेख भएका छन्। ती हुन् Boiga trigonata (Common Cat Snake), Boiga cyanea (Green Cat Snake), Boiga forsteni (Forsten's Cat Snake), Boiga multifasciata (Many-banded/Himalayan Cat Snake) र Boiga ochracea (Tawny Cat Snake)।

सर्पहरू प्राकृतिक पारिस्थितिक प्रणालीका महत्वपूर्ण सदस्य हुन्। यिनीहरूले मुसा, छेपारा, भ्यागुता तथा अन्य साना जीवहरूको संख्या नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले सर्प देख्नेबित्तिकै मार्नुको सट्टा प्रशिक्षित सर्प उद्धारकर्तालाई खबर गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाड्नु नै संरक्षणको सही उपाय भएको संरक्षणकर्मीहरू बताउँछन्।

पछिल्ला वर्षहरूमा झापाका युवा सर्प उद्धारकर्ताहरूले सर्प तथा मानिस दुवैको जीवन जोगाउने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। दुर्लभ प्रजातिहरूको अभिलेखीकरण, वैज्ञानिक पहिचान र संरक्षणमा यस्ता उद्धारकर्ताहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको संरक्षणविद्हरूको भनाइ छ।