बिर्तामोड, २५ भदौ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं नियमित महाधिवेशन अन्तर्गत झापा जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला सचिव कृष्ण हुमागाईको संयोजकत्वमा ११ सदस्य जिल्ला अधिवेशन तयारी समिति गठन भएको छ ।
पार्टीको जिल्ला पदाधिकारी, कार्यसमिति सदस्य, महाधिवेशन, महासमिति सदस्य र जनप्रतिनिधिहरुको उपस्थितिमा आज बिर्तामोडमा बसेको बृहत बैठकले जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी सहसंयोजक र नेविसंघ झापाका सभापति सञ्जय निरौला सदस्य सचिव रहेको उक्त समिति गठन गरिएको बताइएको छ ।
त्यसैगरी पार्टीका अग्रज नेताहरु केन्द्रीय पूर्व पदाधिकारी, पूर्व सांसद, केन्द्रीय सदस्य र अग्रज नेताहरु रहनुभएको २१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको सदस्य सचिव निरौलाले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले पार्टीको वडादेखि प्रदेश तहसम्मका सबै तहको अधिवेशन १४औं महाधिवेशनबाट निर्वाचित समितिले नै गर्ने भएको हुँदा केन्द्रीय महाधिवेशन पनि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णयबाट सार्वजनिक भएको कार्यतालिका अनुसार नै सम्पन्न गर्न कार्यक्रम अघि बढाउने सर्वसम्मत निर्णय गरिएको संयोजक हुमागाईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको जिल्ला संयोजक कृष्ण हुमागाँईकै सभापतित्वमा बसेको बृहत बैठकले यही भदौ २८ गतेभित्र झापाका पाँच वटै प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय अधिवेशन तयारी समिति गठन गर्ने र पालिका तथा वडा तहमा पनि अधिवेशन तयारी समितिहरु गठन गर्ने निर्णय गरेको छ ।
आजको उक्त बैठकलाई केन्द्रीय प्रतिनिधिको रुपमा आउनुभएका केन्द्रीय सदस्य गोमा भट्टराईले सम्बोधन गर्दै सवोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेको अवस्थाले पार्टीको वैधानिक नेतृत्व पनि शेरबहादुर देउवा नै हुने गरी सम्मानित अदालतबाट फैसला आउने पूर्ण विश्वास दिलाउनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महासमिति सदस्य भगिरथ पोद्धारले विशेष अधिवेशनका नाममा विधि मिचेर जेनजीकै शैलीमा पार्टी अपहरण गरी कब्जा गरिएको बताउनुभयो । पार्टीको सम्पूर्ण एकता बिना आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा सफलता प्राप्त हुन नसक्ने भनाइ राख्दै सम्मानजनक पार्टी एकता भए मात्र भावनात्मक एकता हुने बताउनुभयो । चटके शैलीले पार्टी सञ्चालन गर्न नसकिने भनाइ राख्दै अग्रजहरुको त्याग, बलिदान र संघर्षको इतिहासलाई बदनाम गरेर पार्टी बलियो बनाउन नसकिने पोद्धारले बताउनुभयो ।
जिल्ला सहसचिव कालेन्द्रप्रसादसिंह राजवंशीले अदालतले फैसला नगरेसम्म रुख चुनाव चिन्हमा दुबै पक्षको दाबी कायम रहेको हुँदा सम्मानजनक एकता नभए अलग–अलग महाधिवेशन हुने भएकोले त्यसको जिम्मेवारी १४औं महाधिवेशन निर्वाचित नेतृत्वलाई पाखा लगाउनेहरुले लिनुपर्ने भनाइ राख्नुभयो ।
तरुण दलका पूर्व केन्द्रीय सदस्य मदन बुढाथोकीले लोभलालचमा लाग्नेले पार्टी संगठन निर्माण गर्न नसक्ने बताउँदै निष्ठा, त्याग र बलिदानी भावनाले मात्र संघर्षको बाटो हिँड्ने साहस प्राप्त हुने भनाइ राख्नुभयो । संघर्षले मात्र ठूला–ठूला उपलब्धिहरु प्राप्त भएको उदाहरण प्रस्तुत गर्दै अदम्य साहसका साथ संगठन निर्माणमा जुट्न आह्वान गर्नुभयो ।
महासमिति सदस्य खगेन्द्र पाण्डव अधिकारीले विशेष अधिवेशनलाई अनेक तानाबाना र सेटिङको भरमा वैधानिकता दिलाउने अनेकन हर्कत भए पनि सम्मानित सवोच्च अदालतले १४औं महाधिवेशनको निर्वाचित बैधानिक नेतृत्वकै पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अग्रज आदिवासी नेता पूर्व सांसद उम्मेद्वार सूर्यनारायण सिंह ताजपुरिया, कोशी प्रदेश समिति सदस्य मिरा खड्का, बाह्रदशी गाविसका पूर्व अध्यक्ष खड्ग राजवंशी, गौरीगञ्ज गाविसका पूर्व उपाध्यक्ष दिपेन्द्र थापा, जिल्ला सदस्य नारायण पौडेल लगायतले १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वको नीतिनिर्देशन अनुसार सबै तहको अधिवेशन सम्पन्न गर्न एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको थियो ।