१३ कार्तिक २०८३, बिहिवार

मेचीनगर

को को छन् रास्वपाबाट मेयरको आकांक्षी ?

१३ कार्तिक २०८३, बिहिवार
Image

मेचीनगर, १२ कात्तिक । आउँदो स्थानीय चुनावका लागि तीब्र तयारीमा जुटेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेचीनगरमा मेयर पदको उम्मेद्वार बन्न छ जना अगुवा नेता आकांक्षी देखिएका छन् ।

आगामी फागुनमा नभए बैशाखमा हुनसक्ने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न चाहने रास्वपाका आकांक्षीहरुले उम्मेद्वार (क्यान्डिडेट) क्लवमा समावेश हुनुपर्ने विधानको प्रावधान छ ।

ओम भण्डारी, ऋषि तिम्सिना, कमल गौतम, सन्तोष राजबंशी, शिशिर पोखरेल र असीम दाहालको नाम रास्वपा उम्मेद्वारको रुपमा अग्रपंक्तिमा चर्चा हुने गरेको छ ।

पालिका तहको विभिन्न पदमा उम्मेद्वार बन्न चाहनेका लागि रास्वपाले क्यान्डिडेट क्लवको आवेदन खुला गरेको छ । चर्चामा रहेका नेताहरुले पनि क्लवमा नाम दर्ता गराइसकेको स्रोतको भनाई छ ।

मेचीनगर–११ निवासी ओम भण्डारी रास्वपा मेचीनगरको सबैभन्दा अगुवा नेता हुनुहुन्छ । उहाँ रास्वपा गठनपछिको पहिलो आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नु भएको थियो । 

उहाँले पार्टीको संगठन नै नबनिसकेको अवस्थामा सांसदको उम्मेद्वार हुँदा आश्चर्यजनक धेरै मत पाउनु भएको थियो । जेनजी आन्दोलनपछिको आम निर्वाचनमा उहाँको नाम उम्मेद्वारको रुपमा चर्चामा आए पनि निशा डाँगी उम्मेद्वार बनेर जित्नु भयो ।

मेचीनगर–९ निवासी ऋषि तिम्सिना रास्वपाबाट मेयर पदको उम्मेद्वार बन्नसक्ने अर्का प्रभावशाली आकांक्षी हुनुहुन्छ ।

नेकपा एमालेबाट गत स्थानीय चुनावमा उपप्रमुख पदको उम्मेद्वारको रुपमा पार्टीले नगर, क्षेत्र र जिल्लाबाट केन्द्रसम्म नाम सिफारिस गरेका तिम्सिना मेची उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष हुनुहुन्छ ।

शालिन र लोकप्रिय छवि बनाएका तिम्सिनालाई एमालेभित्रै भावी उम्मेद्वारको रुपमा हेरिन्थ्यो । उहाँको रास्वपा प्रवेशलाई राजनीतिक वृत्तमा नगरको मेयर पदको उम्मेद्वार बन्ने फड्कोको रुपमा चर्चा गरिएको पाइन्थ्यो ।

मेचीनगर–१० कै सन्तोष राजबंशी सामाजिक अभियानबाट उदाएका युवा नेता हुनुहुन्छ । युवाहरुलाई प्रशिक्षण र स्वरोजगार बनाउने उहाँको अभियानमा नगरका हरेक गाउँ जोडिएका छन् ।

नगरको पार्टी कमान्ड सम्हालेको आधारमा उहाँ पनि मेयर पदको बलियो आकांक्षी हुनुहुन्छ ।

मेचीनगरमा रास्वपाको सांगठनिक आधार बलियो बनाउने नेताको रुपमा कमल गौतम, शिशिर पोखरेल र असीम दाहाल मेयर पदको आकांक्षी हुनुहुन्छ ।

मेचीनगर–८ निवासी दाहाल पार्टीको निवत्र्तमान क्षेत्रीय संयोजक हुनुहुन्छ । मेचीनगर–९ निवासी पोखरेल शिक्षण पेशाबाट राजनीतिमा आउनु भएको हो । मेचीनगर–२ निवासी गौतम व्यवसायी समेत हुनुहुन्छ ।

क्यान्डिडेट क्लवमा नाम दर्ता गर्न अझै समय रहेको कारण अरु नेताहरु पनि उम्मेद्वारको रुपमा लामबद्ध हुने सम्भावना छ ।