झापा, १३ कात्तिक । झापामा चार लाख ५१ हजार ७०४ जना नागरिकले राष्ट्रिय परिचय पत्रको कार्ड प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगञ्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।
जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकोमा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिनुभयो ।
झापामा केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ वटा राष्ट्रिय परिचय पत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाहरुको राष्ट्रिय परिचय पत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताउनुभयो ।
“राष्ट्रिय परिचय पत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफै उपस्थित हुनुपर्ने प्रावधान छ,” उहाँले भन्नुभयो– “उपस्थित हुन नसकेका कारण कार्ड बनिसकेका राष्ट्रिय परिचय पत्र समेत वितरण हुन नसकेको हो ।”
चालू आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचय पत्रको विवरण संकलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपी वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार नागरिकताको बंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अंगिकृततर्फ १८० वटा, अंगिकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ ।
सर्वसाधारणलाई छिटो, छरितो र सरल ढंगले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
राहदानी र राष्ट्रिय परिचय पत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतिक्षामा रहेका सेवाग्राहीलाई विहानैदेखि र विदाका दिन समेत सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको जनाइएको छ । हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिनुभयो ।
सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचनाहरु निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ ।