झापा, १६ कात्तिक । झापा, मोरङ र सुनसरी लगायतका पूर्वी तराईका जिल्लामा चिसो मौसम सुरु भएसँगै रैथाने खाजा ‘भक्का’को व्यापार फस्टाउन थालेको छ ।
राजबंशी भाषामा ‘भाक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आम बोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आम उपभोक्ताको रोजाई बन्ने गरेको छ ।
मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहनु भएको छ । “हरेक दिन दश केजी पीठोको भक्का बेच्ने गरेको छु,” उहाँ भन्नुहुन्छ– “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”
हरेक विहान पाँच बजेतिर उहाँ भक्का बनाउने भाडाकुडा, चुल्हो, दाउराको बिटो र सालको पातको पोको लिएर घरबाट बजारसम्म धाउनुहुन्छ । उहाँले सालको हरियो पातमा दिने तातो भक्का चखिलो अचारसँग चोभेर खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन् ।
चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ । उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन । चिया र अचारसँग यो परिकार खाने चलन छ ।
मेचीनगर–१० की अम्ला राजवंशीले पनि विगत डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आउनुभएको छ । उहाँले दैनिक १५ केजीसम्म चामलको पिठोको भक्का विक्री गर्ने गरेको बताउनुभयो ।
प्रातकालीन पदयात्रामा हिँड्ने मानिसहरु नै उहाँको पसलमा भक्का खाने नियमित ग्राहक हुन् । बालबालिका र वृद्धवृद्धा समेत भक्का खान पसलमा झुम्मिने गरेको उहाँले बताउनुभयो ।
“विहानको चार पाँच घण्टा त हो नि भक्का बेच्ने, दिउँसो अरु काम धन्धामा लाग्न समय मिलिहाल्छ,” उहाँ भन्नुहुन्छ– “महिनामा रु. ५० देखि ७५ हजारसम्मको भक्का विक्री हुन्छ । यसबाट आधाभन्दा बढी नाफा भइहाल्छ ।”
जाडो याममा भक्काको माग बढ्ने हुँदा कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको व्यापार फस्टाउने गरेको छ । झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का विक्री गर्ने पसलको संख्या धेरै देखिने गरेको छ ।
भक्काको व्यापारले हजारौं आदिबासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । नयाँ पुस्ता भने भक्काको व्यापारमा आकर्षित देखिएका छैनन् ।
“झापाको गल्ली र चोकहरुमा जाडो सिजनमा जताततै भक्का खान पाइदोरहेछ,” मेची बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्नु भएकी तेह्रथुमको फेदाप–१ की १९ वर्षीया रमिला लिम्बुले भन्नुभयो– “भद्रपुरमा हामी हरेक विहान क्याम्पस जानु अघि चियासँगै भक्काको खाजा खाने गर्छौं । बिरे नुन मिसाएको टमाटर र खुर्सानीको अचारसँग भक्का चोभेर खाँदा गज्जबको स्वाद मिल्छ ।”
विद्यालय र क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीहरुमा भक्का बेच्न राखिएका फुटपाथ पसलमा झुम्मिने गरेको पाइन्छ ।
पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान नै बनिसकेको भक्काको रैथाने स्वादलाई प्रवर्धन गर्न झापामा वर्षेनी ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ ।