झापा, १६ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भइरहेको स्तरोन्नतिको कामलाई गुणस्तरीय, व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीय बासिन्दाले जोडदार माग गरेका छन् ।
एसियाली विकास बैंकको वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक खण्डलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिँदै छ । यसमध्ये झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्डको निर्माण ठेक्का इभ्रास्कन कालिका जेभीले पाएको छ ।
तर, निर्माण व्यवसायीले यातायात व्यवस्थापनमा आवश्यक ध्यान नदिँदा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धूलोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रा असाध्यै सकसपूर्ण बनेको भन्दै जनगुनासो व्यापक बनेको छ ।
प्रतिनिधिसभाकी निवत्र्तमान उपसभामुख एवम् झापा क्षेत्र नं. २ की सांसद इन्दिरा रानामगरले आयोजनाका सम्बद्ध पक्षहरूसँग छलफल गरी निर्माण गतिविधिलाई तत्काल यात्रुमैत्री बनाउन आग्रह गर्नुभएको छ ।
“निर्माण पक्ष र सरोकारवालाहरूसँग यस विषयमा गम्भीर छलफल गरेकी छु,” सांसद् रानामगरले भन्नुभयो– “नागरिकका गुनासो तत्काल सम्बोधन हुने गरी आवश्यक समन्वय गरेर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएकी छु ।”
उहाँले राजमार्ग निर्माणको वत्र्तमान प्रगति, ट्राफिक व्यवस्थापन तथा सर्वसाधारणले भोगिरहेका समस्या समाधानबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, एसियाली राजमार्ग आयोजनाका इन्जिनियर आश्रय महत र निर्माण व्यवसायीको प्राविधिक टोलीसँग संयुक्त छलफल गर्नुभएको हो ।
छलफलका क्रममा आयोजना प्रतिनिधिहरूले हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी चार महिनाभित्र त्यसलाई ७० प्रतिशत पुर्याएर चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।
उपसभामुख रानामगरले निर्माण कार्यलाई तीव्रता दिँदै नागरिकको स्वास्थ्य, सुरक्षा र सहज आवागमनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
उहाँले निर्माण अवधिभर प्रभावकारी ट्राफिक व्यवस्थापन, व्यवस्थित डाइभर्सन, पर्याप्त सांकेतिक चिह्न तथा सडक सुरक्षाका सम्पूर्ण उपाय सुनिश्चित गर्न जोड दिनुभएको थियो । धूलो र प्रदूषण न्यूनीकरणका उपाय अपनाउन र चाडपर्वका बेला आवागमन सहज बनाउन वैकल्पिक मार्गको नियमित मर्मतसम्भार गर्न पनि आफुले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, उज्यालो नेपाल पार्टीले राजमार्ग निर्माणमा देखिएको अव्यवस्था र ढिलासुस्तीविरुद्ध दबाबमूलक अभियान सुरु गरेको जनाएको छ ।
“अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउँदा जुन स्तरको व्यवस्थापन हुनुपथ्र्यो, त्यो यहाँ देखिएन,” पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले भन्नुहुन्छ– “जताततै खाल्डाखुल्डी, धूलो र हिलोका कारण यातायात व्यवसायी, यात्रु र स्थानीय बजार क्षेत्रका बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ ।”
उहाँका अनुसार पार्टीले सरकारी निकायहरूमा जनगुनासो पुर्याउनुका साथै खबरदारीस्वरूप काँकडभिट्टा सडकमै सांकेतिक विरोध बैठकसमेत सम्पन्न गरेको छ । राजमार्ग निर्माणको ढिलासुस्ती अन्त्य हुनुपर्ने, सर्वसाधारणको सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्ने र ठेक्का सम्झौता बमोजिम यात्रुहितका शर्तहरू पूर्ण रूपमा पालना हुनुपर्ने उहाँहरूको मुख्य माग छ ।
ठेक्का सम्झौता अनुसार एसियाली राजमार्गको स्तरोन्नति कार्य वि.सं. २०८३ माघ १८ गतेभित्र सम्पन्न भइसक्नु पर्नेछ । वि.सं. २०८० माघ १९ गते राजमार्गको स्तरोन्नति कार्य सुरु भएको थियो । यस परियोजनामा एसियाली विकास बैंकको ८४.९ प्रतिशत र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको छ ।