१९ कार्तिक २०८३, बुधवार

सयपत्री फूलेर सिङ्गै गाउँ ढकमक्क

१९ कार्तिक २०८३, बुधवार
Image

झापा, १८ कात्तिक । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ ।

त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका वडा नं. ९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको आँगन र सडक किनारमा लहरै सयपत्री फूल धपक्कै फूलेका छन् । फूल फूलेर गाउँ नै सुन्दर देखिएको छ ।

स्थानीय भृकुटी युवा क्लवको पहलमा गाउँका हरेक आँगन र सडक किनारमा एक सयका दरले सयपत्रीको बोट हुर्काइएको थियो । अहिले ती बोटमा सयपत्री ढकमक्क फूलेका हुन् । 

क्लवको आग्रहमा गाउँका ५७ वटा घर अगाडि एक सय बोटका दरले कूल पाँच हजार ७०० वटा सयपत्रीको बोट हुर्काइएको टोलका अभिभावक रमेश पोखरेलले बताउनुभयो । 

“हाम्रो गाउँ आउनुभयो भने हरेक घरको आँगन र सडकपेटीमा सयपत्री फूलेर पहेलै भएको सुन्दर दृश्य हेर्न पाउनुहुन्छ,” उहाँले भन्नुभयो– “रोपिहेरौं न त भनेर क्लवले अभियान चलाएको थियो । अहिले गाउँ नै सयपत्रीले धपक्कै उज्यालो भएको छ ।”

स्थानीयबासीले सयपत्री हुर्काउन मिहेनत गरेका थिए । तिहारमा चाहिनेभन्दा धेरै फूल उत्पादन भएकाले हाल स्थानीयले ती फूललाई विक्रीमा राखेर आय आर्जन गर्न थालेका छन् ।

आफूलाई पुगेर उभ्रिएको फूल बेचेर आम्दानी हुनुले स्थानीयबासी हर्षित छन् । झापामा स्थानीय प्रशासनले यसपटक भारतबाट अबैध रुपमा सयपत्री फूल र प्लास्टिकका फूल आयात गर्न रोक लगाएका कारण स्थानीय फूलले बजार पाइरहेको छ ।

पूर्वीनाका काँकडभिट्टा र धुलाबारीबाट चन्द्रगढी विमानस्थल जाने सडक सोही स्थानमा पर्ने भएकाले यहाँको फूलबारीले विदेशी पर्यटकको समेत ध्यान खिच्ने गरेको छ । सो सडकमा हिँड्नेहरुले गाडी रोकेर फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

सयपत्री फूलकै कारण गाउँ नै भाइरल होला भनेर नसोचिएको पोखरेल बताउनुहुन्छ । हाल टाढाबाट आउनेहरु टिकटक र फेसबुकका लागि भिडियो बनाउन समेत परिवारसहित यो गाउँमा पुग्ने गरेका छन् । 

फूलखेती गर्दै आउनु भएकी विर्तामोड–५ की शुष्मा पौडेलले झापामा दर्जनभन्दा बढी कृषकहरु व्यावसायिक फूल खेतीमा सक्रिय रहेको बताउनुहुन्छ । 

उहाँका अनुसार निजी र व्यावसायिक दुबै किसिमको फूल खेतीले यसपाली राम्रो बजार पाउने सम्भावना छ । उहाँले झापामा प्रतिकेजी रु. पाँच सय र प्रति माला रु. १५० का दरले सयपत्री फूल विक्री भइरहेको जानकारी दिनुभयो ।

“फूलको अबैध आयात गर्ने प्रशासनको निर्णयले स्थानीय फूलखेती गर्दै आउनु भएको किसानहरुमा उत्साह बढेको छ,” उहाँ भन्नुहुन्छ– “किसानहरुले तिहार नजिकिदै गर्दा धमाधम अर्डर आइरहेको खुशीको खबर सुनाउने गर्नु भएको छ ।”