१० वैशाख २०८३, बिहिवार

श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिकहरु मारमा

२७ माघ २०७९, शुक्रवार
Image

झापा, २७ माघ  । विहानीको सुरुवातसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । तर त्यही चियाको विरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति बन्ने गरेको छ । 

खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद्योगहरुमा ८० हजार बढी श्रमिक कार्यरत छन् । बैज्ञानिक आधारमा श्रमको मूल्य र प्रचलित सुविधा नपाउँदा ती श्रमिकको अवस्था दयनीय छ ।

श्रमिकहरुले पटकपटक आन्दोलन गरे पश्चात श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गराउन सरकार सहमत भएको थियो । तर चिया उद्योगीहरु सरकारको कानून बमोजिम श्रमिकलाई तलब र सुविधा दिन सहमत छैनन् । यसबाट वर्षेनी चिया क्षेत्रमा उद्योगी र श्रमिक पक्षबीच द्वन्द्व निम्तिने गरेको छ । 

चिया क्षेत्रमा बीसौ बर्ष काम गर्ने श्रमिकहरु श्रम कानून बमोजिकको सेवा सुविधाबाट बञ्चित हुनु परेको नेपाल ट्रेड यूनियन महासंघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटाले बताउनुभयो ।

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ सालदेखि लागू भए तापनि चिया क्षत्रेका रोजगारदाता कम्पनी र प्रतिष्ठानहरु कोषमा सूचीकृत भएका छैनन् । जसका कारण श्रमिकहरुले राज्यले तोकेको सुविधा समेत पाउनबाट वञ्चित हुँदै आएका छन् ।

“आन्दोलन नगरेसम्म सहमति हुँदैन, बल्ल बल्ल सहमति हुन्छ तर कार्यान्वयन हुँदैन”, उहाँले भन्नुभयो, “सेवाबाट निवृत्त हुँदा चिया श्रमिकले कुनै उपदान प्राप्त नगरी रित्तो हात कम्पनीबाट निस्कनुपर्छ । बृद्धावस्थामा आवास समेत छाडेर हिड्नु पर्ने बाध्यता छ ।”

उहाँले रोजगार सम्झौता विना नै श्रमिकलाई काममा लगाउँदा हजारौं मजदूर अन्याय र उत्पीडनमा परेकाले तत्काल उद्योगी व्यवसायीलाई मजदूरको अधिकार तथा सामाजिक न्याय प्राप्तिका लागि सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन कार्यान्वयन गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।  

सरकारले रु. २०–२५ करोड छुट्याएर चिया मजदूरलाई छुट्टै रासन कार्डको व्यवस्था गर्न समेत माग गर्नुभयो । चिया मजदूरलाई भोकै मर्नु नदिने हो भने सरकारले रासन कार्डमार्फत सहुलियतमा खाद्यान्न दिनुपर्ने बताउनुभयो ।

नेपाल चिया बगान श्रमिक संंघका अध्यक्ष दीपक तामाङले अझै पनि मजदूरका लागि सुरक्षित आवास, खानेपानी र शौचालयको राम्रो व्यवस्था नभएको बताउनुभयो । उहाँले चिया क्षेत्रमा काम गर्ने मजदूरहरु विषादिका कारण दीर्घरोगका शिकार बन्दा समेत सरोकारवाला पक्षहरु गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा निजी चिया क्षेत्रमा तत्काल लागू नगर्ने हो भने श्रमिकहरुले आगामी चैतदेखि सबै उद्योग र बगानहरु बन्द गर्ने चेतावनी दिनुभयो ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले स्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सकिए तापनि मौसमी श्रमिकलाई भने कोषमा सूचीकृत गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । 

उहाँले सरकारले चिया क्षेत्रलाई कृषि मानेर कुनै पनि सुविधा उपलब्ध नगराएका कारण पनि मौसमी श्रमिकलाई स्थायी सरह ज्याला, उपदान, उपचार खर्च, दुर्घटना विमा दिन नसकिने बताउनुभयो । 

“श्रम ऐनको व्यवस्था लागू गर्ने हो भने चिया उद्योग चलाउन सकिदैन,” उहाँले भन्नुभयो, “यस्तै अवस्था रहे चिया बगान र उद्योग बन्द गर्ने अवस्थामा हामी पुगिसक्यौं ।” उहाँले चिया क्षेत्रमा छुट्टै श्रम ऐन लागू गर्न समेत सरकारसँग माग गर्नुभयो ।

नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको तथ्यांक छ । जसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालमा चिया उत्पादन गर्ने ३० वटा अर्थोडक्स र ३८ वटा सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् । ती बाहेक एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योगहरु सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसानहरु आवद्ध छन् ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।