१० वैशाख २०८३, बिहिवार

राजनीति

पैतीस वर्षपछि एमाले केन्द्रीय कमिटीको बैठक झापामा

१९ वैशाख २०८०, मङ्गलवार
Image

दमक, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ ।

नेकपा एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्नुहुने भएको छ । वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्द सत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई बैठकपश्चात वैशाख ३१ गते सुखानी लगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन गराइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थानहरु अवलोकन भ्रमणको सूचीमा परेका छन् । 

वि.सं. २०४५ सालयता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उहाँले झापा बैठकले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचन पश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानबादी दल र संघसंस्थाहरुले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाको गृह नगर दमकमा आयोजना हुन लागेको हो ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा ३०१ जना छन् भने प्रदेश कमिटी अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।