१० वैशाख २०८३, बिहिवार

सुरु भयो कनकाईमा फोहोरबाट बायोग्याँस उत्पादन

४ जेठ २०८०, बिहिवार
Image
Gallery Images

झापा, ४ जेठ । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । लगानीकर्ता पालिकाहरुमा कनकाई, अर्जुनधारा र विर्तामोड हुन् । 

कनकाई नगरपालिका वडा नम्बर २ मा बायोग्यासको उत्पादनगृह छ । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी स्थापना गरेर पालिकाहरुले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिक रुपमा बायोग्यास वितरण गरिने बताउनुभयो । यहाँ उत्पादित बायोग्यासको सिलिण्डर उद्योग धन्धा र होटलहरुमा बढी उपयोगी हुने उहाँको भनाई छ । 

उहाँका अनुसार कम्पनीमा रु.२२ करोड लगानी हुने ६० प्रतिशत लगानी तीन वटा स्थानीय पालिकाले व्यहोर्ने सहमति छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु. पाँच करोड ४६ लाख अनुदान दिएको बताइएको छ ।

विर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गरेर कम्पनीले बायोग्यास उत्पादन गर्नेछ । हाल परीक्षणका लागि स्थानीय जंगलमा पाइने झारपातको समेत प्रयोग गरिएको छ । 

त्यहाँ बायोग्याँससँगै जैविक मल समेत उत्पादन हुनेछ । नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने समेत कम्पनीको योजना छ ।

एलपी ग्याँसको तुलनामा बायोग्याँस उपभोक्ताका लागि प्रति सिलिण्डर रु. १५० रुपैयाँ सस्तो पर्ने अध्यक्ष तिम्सिनाले दावी गर्नुभयो । उहाँले चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार २०० घनमिटर बायोग्याँस उत्पादन गर्न सकिने बताउनुभयो ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट ग्याँस उत्पादन सुरु भए पनि बजारीकरण बारेमा छलफल मात्र भइरहेको बताउनुभयो । उहाँले तीनै वटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना सुनाउनुभयो । 

“फोहोरलाई मोहोर बनाउने परियोजना हो यो,”, उहाँले भन्नुभयो, “विर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।” 

सो ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकासँग फोहोरमैला व्यवस्थापनका लागि कम्पनीसँग सहकार्य गर्ने बारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।  

तिम्सिनाले जैविक मल समेत उत्पादन भइरहेको बताउनुभयो । उहाँले उत्पादित मल प्रयोग गर्न उचित भए नभएको जाँच गर्नका लागि प्रयोगशाला राख्ने तयारी भइरहेको बताउनुभयो ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।